बेलायतमा ‘ओमिक्रोन’ बाट एक व्यक्तिको मृत्यु

लन्डन –  बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले वेस्ट लन्डनस्थित एक खोप केन्द्र निरीक्षणका क्रममा उक्त कुरा पुष्टि गरेका हुन् ।

अस्पताल भर्ना हुनेको संख्या पनि वृद्धि भएको र दुइ डोज खोप पर्याप्त नहुने भएकाले समयमा नै बुस्टर डोज लगाउनुको विकल्प नभएको उनले बताए । नयाँ भेरिएन्टविरुद्ध आपतकालिन युद्ध लड्नुपर्ने र यसबारेमा सबैलाई समयमा नै सजग हुन उनले आग्रह गरेका छन् ।

ओमिक्रोनको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि बेलायतमा बुस्टर डोजलाई युद्धस्तरमा अघि बढाइने भएको छ । यसै हप्ताबाट १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिन सुरु गरिनेछ । आइतबार एकैदिन एक हजार ८९८ नयाँ संक्रमित थपिएसंगै बेलायतमा ओमिक्रोन संक्रमित संख्या तीन हजार १३७ पुगेको छ ।

सोमबार मात्र ओमिक्रोनका दश संक्रमित अस्पताल भर्ना भएको स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका थिए । ओमिक्रोन संक्रमण बढेपछि बुस्टर डोजलाई प्राथामिकता दिन लागिएको हुँदा अस्पतालमा गरिएका थुप्रै ‘एपोइन्टमेन्ट’ प्रभावित हुने भएका छन् ।

संक्रमण बढेसंगै कोरोना संक्रमणको मापन दर पनि चौथो स्तरमा निर्धारण गरिएको छ । यसको अर्थ उच्च संक्रमण अर्थात बढ्दो स्तर हो । गत वर्ष मे महिनामा पनि चौथो स्तर घोषणा गरिएको थियो ।

पछिल्लो समय फैलिएको उक्त नयाँ भेरिएन्ट अहिले विश्वका विभिन्न मुलुकमा फैलिएको छ । आउँदो जनवरीमा बेलायतमा अर्को वेभ आउने भन्दै सन् २०२२ को अप्रिलसम्म २५ देखि ७५ हजार सम्मको ज्यान जान सक्ने वैज्ञानिकहरुले चेतावनी दिइसकेका छन् ।

संक्रमण दर नियन्त्रण गर्ने क्रममा सरकारले कोभिड सम्बन्धि नयाँ नियम लागू गरेको छ । सार्वजनिक यातायातलगायत विभिन्न इन्डोर सार्वजनिक स्थानमा मास्कको प्रयोग गर्नुपर्ने नियम यसअघि नै लागू गरिएको छ भने आजबाट सम्भव भएसम्म घरबाटै काम गर्न भनिएको छ ।

तर, सरकारले यसअघिको जस्तो ‘फर्लो’ स्किम भने कार्यान्वयन नहुने स्पष्ट पारेको छ । प्रतिबन्धसम्बन्धि विभिन्न खालका नियम लागू भएपनि व्यापार व्यवसाय बन्द नगरिने बताइएको छ ।


प्रकाशित | २८ मंसिर २०७८, मंगलवार २०:५५