एनआरएनएले पहिलो पटक सरकारविरुद्ध मुद्दा लड्यो भनेर भ्रम फैलाइयो : डा. ब्रदी केसी

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा आगामी कार्यकालको लागि अध्यक्षका उम्मेदवार डा. बद्री केसीले संघले पहिलो पटक सरकारविरुद्ध मुद्दा लड्यो भनेर भ्रम फैलाइएको बताउनु भएको छ । ‘ककस’ कार्यक्रममा बोल्नुहुँदै डा. केसीले संघले पहिलो पटक नभई इतिहासको विभिन्न कालखण्डमा सरकारको विरुद्ध लडेको बताउनु भएको हो ।

इतिहासलाई कोट्याएर हेर्न आग्रह गर्दै डा. केसीले पाटन अदालतमा मुद्दा दायर गरिएपछि भ्रम फैलाइएको भन्दै आपत्ति जनाउनु भयो । ‘केहि ब्यक्तिले संघले पहिलो चोटी सरकारसित मुद्दा लड्यो भनेर भनेका छन्’, उहाँले भन्नु भयो, ‘तर त्यो सरासर गलत र भ्रमको खेती हो ।’

डा. केसीले नेपाल सरकारले एनआरएनएको भवन बनाउन रोक लगाउँदा पहिलो चोटि डा. शेष घले सर्बोच्चमा जानुभएको र सर्बोच्चबाट उहाँले अन्तरिम आदेश ल्याउनुभएकाले अहिलेको मुद्दा पहिलो नभएको बताउनु भयो ।

‘भवन बनाउन पाउँ’ भनेर हामीले पहिलो चोटी त्यो बेलामा सरकारसित मुद्दा लडेका हौं, एनआरएनएको भवन बनाउन दिने तर यदि सरकारले त्यो जग्गा लियो भने भवनसहित सरकारको हुने’ भनेर संस्थालाई असाध्यै घाटा हुने खालको आदेश त्यो बेला सर्बोच्चबाट भएको थियो’, उहाँले भन्नु भयो,’सरकारले एनआरएनएलाई बिपक्षी बनाएर अख्तियारमा मुद्दा हालेकाले संघले डेढ दुई वर्षदेखि अख्तियारमा मुद्दा लडिरहेको छ ।अहिले केहि साथीहरुले ‘एनआरएनएले पहिलो चोटी सरकारसित मुद्दा लड्यो’ भनेर भनीरहनु भएको छ । ति साथीहरुलाई अलिकति पछाडी फर्केर ईतिहास हेर्नुस् भन्न चाहन्छु ।’


प्रकाशित | १९ मंसिर २०७८, आईतवार १५:१०