संस्थाको विधान भन्दा माथि कोहि पनि हुन सक्दैन : शेष घले

काठमाडौं – गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले संस्थाको विधानभन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भएको छ । गैर आवासीय नेपाली संघ यूकेको नयाँ कार्यसमितिले १०० दिन पूरा गरेको अवसरमा अल्डरसटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्थामा विधान भन्दा माथि कोहि पनि नरहेकाले सबैले विधानको पालना गर्नु पर्नेमा जोड दिनु भएको हो ।

घलेले संस्था निजी, राजनीतिक वा सामाजिक जस्तो सुकै भए पनि त्यसमा निष्पक्षता हुनु पर्ने र सबै सदस्यप्रति समान व्यवहार गरिनु पर्ने पनि बताउनु भयो । संस्थामा थिति वा पद्धति बसाल्न पनि त्यत्तिकै महत्वपूर्ण रहेकोमा जोड दिनु भयो ।

कुनै पनि व्यक्ति उक्त संस्थाको नियम र पद्धति भन्दा माथि नहुने भन्दै त्यो कुरा सबैले बुझ्नु पर्ने बताउनु भयो । एनआरएनए एउटा संजाल रहेको बताउँदै उहाँले छोटो समयमा एनआरएनए यूकेले गरेका कामहरु अरु एनसीसीहरुका लागि पनि उदाहरणको रुपमा रहने धारणा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा एनआरएनए आइसिसी सल्लाहकार तथा अध्यक्षका उम्मेदवार कुल आचार्यले संघमा विभिन्न बहानाबाजी बनाएर अक्टोबरमा गर्नुपर्ने अधिवेशन र चुनाव सार्ने काम गरिएको बताउनु भयो । ‘हामी भोलि नै चुनाव गरे पनि तयार छौं, तर कसैलाई जिताउन वा हराउनका लागि गरिएको बहानाबाजीबाट हामी सचेत हुनुपर्छ’, उहाँले भन्नु भयो ।

आचार्यले गैर आवासीय नेपाली नागरिकता, सम्पत्तिको सुरक्षा, सुरक्षित वैदेशिक रोजगार जस्ता सवालहरुमा नेपाल सरकारसंग मिलेर काम गर्नु पर्ने बताउदै सरकारसंग निहुँ खोज्ने काम गर्न नहुने पनि बताउनु भयो ।

‘अहिले परराष्ट्र मन्त्रालयलाई बेवास्ता गर्ने, निहुँ खोज्ने काम भै रहेको छ, त्यो ठिक होइन’, आचार्यले भन्नु भयो, ‘अहिले पनि छलफल भयो, सहमति भयो भनेर झुक्याउने काम भएको छ। व्यक्तिगत स्वार्थ पुरा गर्न संस्था प्रयोग नहोस्’, उहाँको चेतावनी छ ।

उहाँले गैर आवासीय नेपालीहरुका १८ वर्ष देखि थाती रहेका मुद्दालाई तार्किक निष्कर्षमा पुराउन आफूले उम्मेदवारी दिएको पनि बताउनु भयो । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए यूके प्रमुख संरक्षक शेर सुनार, यति एसोसियसन यूकेका अध्यक्ष ध्रुव केसी, लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, वाटर एड यूकेका डा। ओम गौतम लगायतका वक्ताले शुभकामना दिनु भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि घलेले एनआरएनए यूकेका नवनियुक्त प्रमुख सल्लाहकार तथा सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । महासचिव खुशी लिम्बुले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष नारायण कंडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।


प्रकाशित | ६ मंसिर २०७८, सोमबार ११:४९