राष्ट्रिय जनगणना २०७८ मा सहभागी हुन गैर आवासीय नेपालीमा अपिल

काठमाडौं – गैर आवासीय नेपाली संघले राष्ट्रिय जनगणना २०७८ मा सहभागि हुन विदेशमा रहेका नेपालीमा अपिल गरेको छ । नेपाल सरकारले यस वर्ष देखी जनगणनामा विदेशमा रहेका नेपालीहरुलाई पनि समेटेपछि एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै जनगणनामा सहभागि हुन अपिल गरेको हो ।

संघले सुरु देखि नै विदेशमा रहेका नेपालीहरुको आधिकारिक तथ्यांक संकलन गर्नको लागि नेपाल सरकार समक्ष पहल गर्दै आएको थियो ।अहिले नेपालमा बाह्रौँ जनगणना भइरहेको छ । यही कार्तिक २५ देखि मंसिर ९ गते सम्म हुने गणनामा गणकहरु प्रत्येक घरमा पुगिरेहका छन् । जनगणनामा व्यक्तिगत, पारिवारिक गरी ८० वटा प्रश्नहरु सोधिने गरिएको छ । यसैको आधारमा देशको सबै क्षेत्रको गुरु योजनाहरू निर्माण हुने गर्दछ ।

जारी बिज्ञप्तिमा भनीएको छ, ‘सरकारले सोधेको सबै प्रश्नको जवाफ दिंदा आफूलाई पछि केही समस्या पर्छ कि भन्ने शंका हुनु स्वाभाविक हो तर गणनामा प्राप्त कुनै पनि विषय सम्बन्धित व्यक्तिको विरुद्ध प्रमाणको रूपमा प्रयोग गर्न नपाउने कानुनी व्यवस्था तथ्यांक ऐन २०१५ ले गरेको हुँदा यो भ्रमलाई चिर्दै यथार्थ तथ्याङ्क दिन दिलाउन आवश्यक छ ।’

धेरै विषयमा सोधिने प्रश्नहरुमध्ये विदेशमा बस्नेहरुको बारे पनि एउटा छुट्टै खण्ड राखिएको छ । मुख्य प्रश्नावलीमा परिचयात्मक खण्डबाट शुरू हुन्छ । एउटा खण्डमा अनुपस्थित विवरण राखिएको छ । प्रश्न नं १६ मा ‘तपाईंको परिवारका कुनै अनुपस्थित सदस्य हाल विदेश गएका छन्’ मा ‘छन्’ भन्ने जवाफ दिनेले प्रश्न १७ को जवाफ दिनुपर्ने छ । जसमा विदेश जानेको नाम, लिंग, जाँदाको उमेर, शिक्षा, कहिले गएको, विदेश जानुको कारण, देशको नाम भर्नुपर्ने हुन्छ ।

विवरणहरू सबैले नछुटाई भरिएमा सरकारले कुन देशमा कति के नेपाली बसेका भन्ने तथ्याँक प्राप्त गर्नेछ । प्रत्येक गाउँ टोल जिल्लाबाट के कति मानिसहरू विदेश गएका छन् भन्ने तथ्याङ्क सजिलै तयार पार्न सकिने छ । संघले जनगणनामा आफ्नो सहि विवरण दिएर नेपालको समृद्धिमा सहयोग गर्न पनि आग्रह गरेको छ ।


प्रकाशित | २८ कार्तिक २०७८, आईतवार १६:५९