विनोध चौधरीले  सुनाए सफलताका सुत्रहरु:  हिनताबोध त्याग्नु, सपना देख्नु र सपनालाई पछ्याइरहनु

काठमाडौं: चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले विद्यार्थीलाई सफलताका लागि जीवनको लक्ष्य निर्धारण गर्न सुझाउनुभएको छ । विद्यार्थीलाई सफलतका अनुभवहरु सुनाउँदै चौधरीले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिव सात सय विद्यार्थीलाई आइतबार सम्बोधन गर्दै भन्नुभयो,  “आजको विश्व ३० वर्षभन्दा कम उमेरका युवाका लागि सवैभन्दा महत्वपूर्ण रहेको छ । सूचना प्रविधिका क्षेत्रमा जति उपलब्धि हासिल भएका छन्, सबै यही उमेरका युवाको देन छ, विद्यार्थीहरूका लागि यस्ता अवसर प्रशस्त छन् ।”

सफलताका लागि थ्री एस अर्थात् स्किल, स्केल र स्पिडको आवश्यकता पर्ने शूत्र दिँदै भन्नुभयो, “तपाईंहरूको विश्वविद्यालयको अध्ययन त्यही स्किल हासिल गर्न हुनुपर्छ । यहाँ प्राप्त गरेको स्किललाई वृहत स्केलमा कार्यानवयनमा ल्याउन सक्दा मात्रै सफल हुन सकिन्छ ।” उहाँले विश्व आफ्नै रफ्तारमा दौडिरहेकाले आफू पनि सोही स्पिडमा दौडनुपर्ने समेत बताउनुभयो । त्यसका लागि हिनताबोध र कन्फ्यूजन त्याग्नुपर्ने उहाँको भनाइ छ ।

विश्वका नाम चलेका विश्वविद्यालयमा पढ्दैमा मात्र सफल भईने सोच सही नभएको भन्दै उहाँले भन्नुभयो, “मैले पनि त्रिभुवन विश्वविद्यालय मातहतकै क्याम्पसमा अध्ययन गरेको हुँ । यदि त्यस्तो हुन्थ्यो भने म अर्बपति बन्न सम्भव थिएन ।” युक्रेनी युवा जोम कोउमले ह्वाट्स एप मार्फत् प्राप्त गरेको सफलताको उदाहरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले पनि दुनियाँ हल्लाउने आविष्कार गर्न सक्छन् । त्यसका लागि सपना देख्नु र सपनालाई पछ्याउनु भने अनिवार्य छ ।”


प्रकाशित | १५ बैशाख २०७६, आईतवार २०:५७