एनआरएनएमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल शूरु

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) मा सर्वसम्मत नेतृत्वको लागि गृहकार्य शूरु भएको छ । संघको निर्वाचन नजिकिंदै जाँदा सर्वसम्मत नेतृत्वको लागि गृहकार्य शूरु भएको हो । प्रतिनिधिको विवाद टुंगो लाग्ने लक्षण देखिएसँगै नेतृत्वको लागि सर्वसम्मतीको प्रयास शूरु गरिएको हो ।

निर्वाचनको लागि अहिलेसम्म वर्तमान उपाध्यक्ष डा. बद्री केसी, रविना थापा र सल्लाहकार कुल आचार्यले नेतृत्वको दावेदारी प्रस्तुत गर्नु भएको छ । थापाले बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ भने आचार्यले केहि साता अघि मात्र गृह जिल्ला पर्वत पुगेर पत्रकार सम्मेलन गर्दै अध्यक्षको उम्मेदवारी घोषणा गर्नु भएको छ । डा. केसीले औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि नेतृत्वको लागि भित्री तयारी गरिरहनु भएको छ । हालसम्मको अवस्था हेर्दा नेतृत्वको लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

तर बाहिर प्रचारमा जे देखिए पनि नयाँ नेतृत्वका लागि सर्वसम्मतीको प्रयास थालीएको छ । संघका अभियन्ताहरु यतिखेर सर्वसम्मत नेतृत्वका लागि भित्री गृहकार्यमा ब्यस्त हुनुहुन्छ । विशेष गरि संघका पूर्व अध्यक्ष तथा संरक्षकहरु आगामी नेतृत्व कुनै पनि हालतमा सर्वसम्मत गर्नुपर्ने र संघलाई जोगाउनुपर्ने पक्षमा उभीनु भएको छ ।

संघको नवौ महाधिवेशनबाट शुरु भएको राजनीतिकरण र आर्थिक चलखेलले संस्था धरासायी बन्दै गएको र दसौ महाधिवेशनको संघारमा आइपुग्दा संस्थाको अस्तित्व समाप्त हुने दिशातर्फ उन्मूख भइरहेको भन्दै सर्वसम्मत नेतृत्व चयन गर्न नसकिए अब एनआरएनए सग्लो हुन नसक्ने उहाँहरुको निस्कर्ष छ ।

त्यस्तै, संघको २० वर्षे इतिहासमा पहिलो पटक सस्था मुद्दा मामिलामा गएको, गुटबन्दी, राजनीतिकरण झन झन झाँगीएको, आर्थिक चलखेलले सिमा नाघेको, विधी, विधान र पद्धतिभन्दा ब्यक्तीगत स्वार्थमा बढी केन्द्रित भएको, एकपक्षीय रुपमा संस्था कब्जा गर्ने कार्य भइरहेको, सस्था चुनावमुखी मात्र हुँदा मुख्य मुद्दाहरु ओझेलमा परेको, सस्थाको साख गिर्दै गएको जस्ता निष्कर्ष पनि उहाँहरुले निकाल्नु भएको छ ।

स्रोतका अनुसार पूर्व अध्यक्ष, अभियन्ता, संरक्षक तथा सल्लाहकारहरुको सहमतिमा वर्तमान अध्यक्ष कुमार पन्त, सल्लाहकार कुल आचार्य, उपाध्यक्ष डा. बद्री केसी, सोनामा लामा र रविना थापामध्ये एकको पक्षमा सर्वसम्मती खोज्नुपर्ने विषयमा छलफल शूरु भएको हो । पाँच जनामध्ये जसको पक्षमा सहमति जुट्छ उसैलाई नेतृत्व चयन गर्नुपर्नेमा उहाँहरुको जोड छ ।

संघको निर्वाचन आगामी अक्टोवर २० तारिखमा तोकिए पनि परराष्ट्र मन्त्रालयले तत्काल निर्वाचन सम्बन्धी प्रक्रिया स्थगन गर्न निर्देशन दिएसँगै निर्वाचन सम्बन्धी कार्य रोकिएको छ । यद्यपी सो विवादको समाधान गर्न सम्वाद शूरु भइसकेको छ ।

निर्वाचनमा सहभागि हुने प्रतिनिधिको विषयमा देखिएको विवाद टुंग्याउन प्रमुख संरक्षक शेष घले र अध्यक्ष कुमार पन्तलाई जिम्मेवारी दिइएको छ । घले र पन्तले ढिलोमा एक साताभित्र प्रतिनिधिको विवाद टुंग्याई निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्ने तयारी छ । यद्यपी विवाद टुंगीन समय लागे एनआरएनको निर्वाचन ढिलोमा दुई साता पर सर्न सक्ने स्रोतको भनाई छ ।


प्रकाशित | ८ आश्विन २०७८, शुक्रबार १३:१६