एनआरएनए निर्वाचन: कोरियाबाट चार जनाले गरे संयुक्त उम्मेदवारी घोषणा

सियोल – गैर आवासीय नेपाली संघमा एकताको सन्देश दिदैं कोरियाबाट चार जनाले सामूहिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार आयोजित एक कार्यक्रमका बीच कोरियाबाट आइसिसी सचिव, महिला संयोजक, एसिया प्याशिफिक क्षेत्रीय संयोजक र उपसंयोजकमा उम्मेदवारी घोषणा गरिएको हो ।

एनआरएनए कोरियाले यो पटक चारै जनालाई संस्थागत रुपमा सहयोग गर्ने भएको छ । एकै पदमा दुई जनाको उम्मेदवारी नपरेपछि कोरियाले चारै जनालाई संस्थागत समर्थन गर्ने निर्णय गरेको हो ।

कोरियाबाट आइसिसी सचिवमा एनआरएनए दक्षिण कोरियाका संस्थापक उपसभापति डा. देवी बस्नेत, एनआरएनए महिला संयोजकमा पूर्व एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजक जुनु गुरुङ, एसिया प्याशिफिक क्षेत्रीय संयोजकमा दुई कार्यकाल एनआरएनए कोरियाको नेतृत्व गर्नु भएको विनोद कुँवर र क्षेत्रीय उपसंयोजकमा एनआरएनए कोरियाको निवर्तमान अध्यक्ष यज्ञ राज सुवेदीले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

को हुन् सचिव पदका उम्मेदवार डा. देवी बस्नेत ?

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद्को सचिवमा उम्मेदवारी घोषणा गर्नु भएको डा. देवी बहादुर बस्नेत एनआरएनए कोरियाको संस्थापक उपसभापति हुनुहुन्छ । बस्नेतले सन् २००६ मा एनआरएनए दक्षिण कोरियाको संस्थापक उपसभापति हुँदै महासचिव तथा तीन कार्यकाल सम्म संरक्षकको भूमीका निर्वाह गरिसक्नु भएको छ ।

त्यस्तै, उहाँले २००९-२०११, २०११-२०१३ र २०१९-०२१ मा गरि तीन कार्यकाल सम्म एनआरएनए आईसीसी सदस्यको जिम्मेवारी पनि निर्वाह गरिसक्नु भएको छ ।  साथै उहाँले एनआरएनएको निर्वाचन मण्डलको सदस्य हुँदै निर्वाचन मण्डलको संयोजकको जिम्मेवारी पनि सफलतापूर्वक पूरा गर्नु भएको छ ।

उहाँले एनआरएनए आइसीसीका बिभिन्न कमिटी तथा ट्याक्सफोर्समा बसेर पनि काम गरिसक्नु भएको छ । त्यस्तैगरि, एनआरएनए एसिया प्यासीफिकको पहिलो विज्ञ सम्मेलनको संयोजक भई उहाँले कार्य सम्पादन गरिसक्नु भएको छ ।

विगतका एनआरएनए प्रतिको निष्ठा र त्यागलाई साक्षी राखी यसपटक कार्यकारी पदमा बसेर संघलाई अझ बढी योगदान दिन सकिने विश्वास सहित सचिव पदमा उम्मेदवार दिने निर्णय गरिएको बस्नेतले बताउनु भयो ।

सचिवको रुपमा संघलाई संस्थागत बलियो बनाउन, विज्ञान तथा प्रविधीसँग संम्बन्धित नीति तथा नियमहरुलाई प्रभावकारी बनाउन र आफूले सामुहिक लगानी सम्वन्धि भोगेका अनुभवहरुलाई कार्यान्वयन गर्दै मातृ भूमीका लागि केही गर्न सकिन्छ भन्ने विश्वास रहेको पनि उहाँले बताउनु भयो ।

को हुन् महिला संयोजक पदका उम्मेदवार जुन गुरुङ ?

हाल आइसिसी मानार्थ सदस्य रहनु भएको जुनु गुरुङ संघको अघिल्लो नवौ विश्व महाधिवेशनमा पनि महिला संयोजकको प्रत्यासी हुनुुहुन्थ्यो । सन् २०१७ ०१९ मा एसिया प्याशिफिक महिला फोरम संयोजक रहनु भएको गुरुङले विश्वभरिका अग्रज महिला दिदी बहिनी तथा अग्रज एनआरएन अभियन्ताको सल्लाह र सुझाव अनुसार आइसिसी महिला संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो ।

गुरुङले दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी निर्वाह गर्नु भएको थियो । कोरियामा सन् २०१० देखि २०१४ बीच एक मात्र महिलाहरुको साझा संस्थाको रुपमा रहेको वेमन फर वेमन (महिलाको लागि महिला) को संस्थापक अध्यक्षमा रहँदा गुरुङले त्यहाँ समस्यामा परेका धेरै महिलाहरुलाई उद्दार ,अन्य सहयोग कार्य गर्नु भएको थियो ।

उहाँले एनआरएनएमा यसअघि एसियाका धेरै देशमा महिला फोरम अभियानलाई सफल बनाएको बताउँदै उहाँले अब विश्वभरी महिलाहरुको सञ्जाललाई विस्तार गर्नु आफनो मुख्य एजेन्डा हुने उल्लेख गर्नुभयो ।

एनआरएएन भनेको सबैको साझा संस्था भएको बताउँदै संस्थालाई गतिशिल र सबैको अपनत्व हुने गरि अगाडि बढाउन सबै क्षेत्रको प्रतिनिधित्व समेत सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

सबै महिला दिदीबहिनीहरुको अवस्था एकै नभएको भन्दै मध्यपूर्वमा रहनु भएका महिलाहरुको आवाजलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्ने बताउनु भयो ।

त्यस्तै, गुरुङले आइसिसी महिला फोरमले अगाडि सारेका राम्रा कार्य र महिलाहरुका मुद्दालाई निरन्तरता दिने र फन्ट्र कलेक्सनमा विशेष जोड दिदैँ महिलाहरुका शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा कार्य गर्ने बताउनुभयो ।

को हुन् एसिया प्याशिफिक क्षेत्रीय संयोजक पदका उम्मेदवार विनोद कुँवर

एनआरएनए कोरियाको दुई कार्यकाल नेतृत्व समाल्नु भएको विनोद कुँवर सन् २०१७ ०१९ मा एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकको जिम्मेवारी समाल्नु भएको थियो ।

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको स्थापना काल देखि संस्थापक सदस्य हुँदै दुई कार्यकाल (सन् २००९-२०१५) अध्यक्षको जिम्मेवारी वहन गर्नु भएको थियो । त्यस पछी गैर आवासीय नेपाली संघ अन्तरार्ष्ट्रिय समन्वय समिति सदस्य (२०१५-२०१७), एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय उपसंयोजक (२०१७-२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९-२०२१) हुँदै करिव १६ वर्ष गैर आवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रही काम गरिसक्नु भएको छ ।

उहाँले सस्थागत सवलीकरण, श्रम डिप्लोमेसी, ब्रेन पुलिङ, उद्यमशिलता लगायत एजेन्डासहित उम्मेदवारी दिने निर्णय गरिएको बताउनु भयो । म्याग्दी निवासी कुँवर २३ बर्षको उमेरमा दक्षिण कोरिया पुग्नु भएको थियो । दुई वर्षमात्र कोरियाको अनुभव लिने र देशमै केही गर्छु भन्ने सपना लिएर छिर्नु भएको कुँवर अहिले कोरियामा एक सफल व्यवसायी हुनुुहुन्छ ।

नेपाल र कोरियाबीच टेड्रिङ व्यवसायको अलावा रेष्टुरेण्ट व्यवसाय गरिरहनु भएको कुँवर रेमिट्यान्सको व्यवसाय पनि गरिरहनु भएको छ ।

को हुन् एसिया प्याशिफिक क्षेत्रीय उपसंयोजक पदका उम्मेदवार यज्ञ राज सुवेदी ?

यज्ञ राज सुबेदी एनआरएनए कोरियाको निवर्तमान अध्यक्ष हुनुुहुन्छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको संस्थापक सदस्य समेत रहनु भएको सुवेदीले सन् २०१९-२०२१ मा एनआरएनए केन्द्रीय बिधान संसोधन समितिको सदस्य भएर पनि काम गरिसक्नु भएको छ ।

त्यस्तै, दक्षिण कोरियाका वर्तमान राष्ट्रपति मुन जे इनको अध्यक्षता रहेको उत्तर दक्षिण कोरिया शान्तिपूर्ण एकता समितिको सल्लाहकार (२०१७-२०१९) का साथै दक्षिण कोरियाको सत्तारुढ दलको प्रवासी मामिला सम्बन्धित समितिको केन्द्रीय उपाध्यक्ष जस्ता विभिन्न संघ संस्था तथा जिम्मेवारीमा रही कार्य गरिसक्नु भएको छ ।

कोभिड महामारीमा सुवेदीकै नेतृत्वमा कोरियाबाट नेपालमा करोडौको स्वास्थ्य सामाग्री सहयोग गरेर ठूलो योगदान पुर्याइएको थियो । उहाँले संस्थागत सुधार, सहभागितामुलक एनआरएनए, विदेशमा सिप आर्जन, स्वदेशमा स्वरोजगार भन्ने मूल नाराका साथ क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

एनआरएनए तथा विभिन्न संघसंस्थामा हासिल गरेको अनुभवको आधारमा डिआरसीमा उम्मेदवारी घोषणा गरिएको उहाँले बताउनु भयो । उहाँले उम्मेदवारी घोषणसँगै विभिन्न पाँच बुँदे प्रतिबद्धता पनि सार्वजनिक गर्नु भएको छ ।

उहाँले एनआरएनएको संस्थागत संरचना सबलीकरण तथा सुधार, थप समावेशीता तथा पारदर्शिता, कोभिड १९ को कारण रोकिएका तथा रोजगार गुमाएकाहरुको रोजगारको सुनिश्चितताको लागि आवश्यक सहजीकरण, दोश्रो पुस्ताका लागि निशुल्क अनलाईन नेपाली भाषा तथा संस्कृति सिकाउने शनिबारे विद्यालय, विदेशमा रहदा सिप तथा पशिक्षण, स्वदेश फिर्ती संगै स्वरोजगार तथा स्वावलम्बन, युवा र विद्यार्थीहरुको सहभागिताका पक्षमा वकालत, ज्ञान, सिप र प्रविधि हस्तान्तरणमा सहजीकरणलगायतका एजेन्डा रहेका छन् ।


प्रकाशित | २० भाद्र २०७८, आईतवार १२:१३