‘दोस्रो पुस्तालाई नेपालसँग जोडने अभियानकै रुपमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेका हौ’

गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा आगामी अगस्ट ९ तारिखका दिन बक्तृत्वकला प्रतियोगिता आयोजना गरिर्दैछ । कार्यक्रम ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा रहेर नेपाली र अंग्रेजी दुवै भाषामा हुँदैछ । सम्बन्धित देशमा स्थायी प्रमाणपत्र लिई दोस्रो पुस्ता सम्म बिताइ सक्नु भएका अभिभावकका बालबालिकाहरुलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगितामा विजेतालाई नगद १ लाख पुरस्कारको ब्यवस्था गरिएको छ । यसै सन्दर्भमा केन्द्रित रहेर हामीले एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलसँग प्रतियोगिताको तयारी, छनौट प्रक्रियालगायतका विषयमा छोटो कुराकानी गरेका छौ । प्रस्तुत छ, युवा संयोजक कँडेलसँग गरिएको कुराकानीको सम्पादीत अंश :-

बक्तृत्वकला प्रतियोगिताको तयारी कस्तो छ ?

आगामी अगस्ट ९ तारिख आइतबारका दिन आयोजना गर्न लागिएको कार्यक्रमको तयारी तीब्र रुपमा भइरहेको छ । अहिले विभिन्न देशमा प्रतिस्पर्धा गराएर फाइनल राउण्डमा छनौट गरि पठाउने कार्य भइरहेको छ । केहि देशले छनौट गरेर नामावली पनि पठाइसक्नुभएको छ । अहिलेसम्म सिंगापुर, मकाउ, म्यानमार र जापानबाट छनौट भएर आइसकेको छ । अन्य देशमा धमाधम छनौट प्रक्रिया भइरहेको जानकारी प्राप्त भएको छ । हामीले अगस्ष्ट १ तारिखभित्र सबै देशबाट छनौट गरेर नामावली पठाउन भनेका छौ । मुख्यत विभिन्न देशबाट छनौट हुने कार्य अन्तिम चरणमा पुगिसकेको छ भने आयोजकको तर्फबाट गर्नुपर्ने आवश्यक सम्पूर्ण तयारी सम्पन्न भइसकेको छ ।

एनआरएनको क्षेत्रीय स्तरमा युवा कमिटी खासै सक्रिय भएको पाइँदैन, तर एसिया प्याशिफिकले आफनो सक्रियता देखाउँदै अली फरक अवधारणमा रहेर स्पीज कन्टेस्ट आयोजना गर्दैछ, स्पीज कन्टेष्ट नै गर्नुको उद्देश्य चाँहि के हो ?

विदेशमा रहेको दोस्रो पुस्ताका अभिभावकका बालबालीकालाई राष्ट्र तथा देशप्रति झुकाव कम छ । विशेष गरि राष्ट्र, राष्ट्रियताप्रति हाम्रो दोस्रो पुस्ता अनविज्ञ जस्तै छ । गैर आवासीय नेपाली संघले विदेशमा स्थायी रुपमा बसोबास गरिरहेका अभिभावकका बालबालीकालाई देशप्रति माया जगाउन, नेपाली भाषा, संस्कृति, साहित्य र रहनसहनलगायतका विषयमा जानकारी दिने उद्देश्यले स्पीज कन्टेस्ट आयोजना गरेका हौ । कोभिड १९ को महामारीमा प्राप्यजसो मुलुकमा विद्यालय बन्द छ । विद्यालय बन्द हुँदा बालबालीका घरमै रहेको अवस्थामा उनीहरुलाई रचनात्मक र सृजनात्मक कार्यमा लगाउन सकिन्छ भन्ने उद्देश्य पनि हो । जस्तो हामीले हरेक देशबाट तीन तीन जनालाई फाइनलमा सहभागि गराउँछौ । त्यसको लागि तीन जनाभित्र पर्न पनि धेरैभन्दा धेरैको सहभागिता रह्यो भने बालबालीकालाई नेपालप्रति बुझाउने र जागरुक गराउने अवसर मिल्छ भनेर पनि स्पीज कन्टेस्ट आयोजना गरेका हौ । हामीसँग स्पोर्टसदेखि लिएर धेरै योजना भएपनि अहिलेको अवस्थामा स्पीज कन्टेस्ट गर्नु उपयुक्त ठानेर आयोजना गरेको हौ ।

प्रतीयोगिताको लागि छनौट प्रक्रिया बारेमा बताइदिनुस न ?

प्रतियोगितामा सहभागिताको लागि नेपाल बाहेक विदेशमा बसोबास गर्ने विद्यार्थी हुनुपर्नेछ । अनलाईन जुम मार्फत (अडियो, भिडियो ) हुने सो प्रतियोगितामा सहभागि हुन १९ वर्ष नकाटेको हुनुहुपर्नेछ । प्रत्येक प्रतियोगिले बढीमा ३ मिनेट सम्मको भिडियो पठाउनुपर्नेछ । इच्छुक विद्यार्थीहरुले आफू बसेको देशमा रहेको गैर आवासीय नेपाली संघमा ती भिडियो पठाउनुपर्नेछ । त्यसपछि एनआरएनएको सम्बन्धीत एनसिसीले बढीमा तीन जनाको छनौट गरि एसिया प्रशान्त क्षेत्रीय कमिटिमा पठाउनेछ । कमिटिमा पुग्न सफल प्रतियोगिमध्येबाट जुममार्फत लाईभ गरिनेछ । फाइनलमा पुग्ने प्रतियोगिले आफनो प्रस्तुती ३ मिनेटभित्र राखीसक्नुपर्नेछ । कार्यक्रम आगामी अगस्ट ९ तारिख आइतबार नेपालको समय ३ बजे हुनेछ ।

प्रतियोगितामा कती देशबाट कती संख्यामा सहभागिता रहने अनुमान गर्नुभएको छ ?

प्रतियोगितामा विश्वभरिका २० देशका करिव ३५ जनाको सहभागिता रहने अनुमान गरेका छौ । अहिलेसम्म सिंगापुरबाट ३ जना, म्यानमारबाट १ जना, मकाउबाट ३ जना र जापानबाट ३ जना प्रतियोगि छनौट भएर नामावली पठाइसक्नुभएको छ । हामीले १ तारिखसम्म नामावली पठाइसक्न समय तोकेका छौ ।

प्रतियोगितामा विजेतालाई पुरस्काको पनि घोषणा गर्नुभएको छ, कार्यक्रम खर्च ब्यवस्थापन कसरी गर्नुहुन्छ ?

प्रतियोगितामा विजेतालाई नगद तथा सर्टीफिकेटको ब्यवस्था गरिएको छ । हामीले पहिलो हुनेलाई १ लाख, दोस्रो हुनेलाई साठी हजार, तेस्रो हुनेलाई चालिस हजारको पुरस्कार ब्यवस्था गरेका छौ । एनआरएनए एउटा विशुद्ध सामाजीक संस्था भएकाले हामीले विभिन्न अग्रज ब्यक्तीत्व, सफल ब्यवसायीहरुको स्पोन्सरबाट कार्यक्रम गर्दैछौ । हामीले करिव साढे ३ लाख खर्च हुने अनुमान गरेका छौ ।

कार्यक्रममा अतिथिको रुपमा को- कसको सहभागिता रहन्छ ?

कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्ट, आइसिसीको तर्फबाट युवा कमिटी संयोजक हिमाल गुरुङ, एसिया प्याशिफिक क्षेत्रबाट क्षेत्रीय सयोजक गोविन्द श्रेष्ठ, उपसंयोजक पारसमणी पोखरेललगायतलाई पत्र पठाइसकेका छौ । साथै नेपालबाट चर्चीत पत्रकार भूषण दाहाल विशेष अतिथिको रुपमा सहभागि हुनुहुनेछ । प्रतियोगिताको लागि पाँच जना निर्णयक मण्डल रहनुहुनेछ ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

अन्तमा सबै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुलाई प्रतियोगितामा सहभागिता जनाइदिनुहुन हार्दिक अपिल गर्न चाहान्छु । यो कार्यक्रम प्रतियोगितामा सिमित नगरी देशको राष्ट्रियताप्रति माया जगाउन र नेपालको भाषा, साहित्य, संस्कृति र रहनसहनका विषयमा नयाँ पुस्तालाई अवगत गराउनको लागि पनि भएकाले सहभागिताको लागि पुन एक पटक सबै एनसिसीहरुमा हार्दिक अनुरोध गर्न चाहान्छु । धन्यवाद ।


प्रकाशित | १३ श्रावण २०७७, मंगलवार १४:०६