एनआरएनए हाँक्न मैदानमा उत्रीए केसी, आचार्य र थापा

काठमाडौं –  गैर आवासीय नेपाली संघको निर्वाचनमा नेतृत्वको लागि होडबाजी शूरु भएको छ । आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा नेतृत्वको लागि होडबाजी शूरु भएको हो । नेतृत्वको लागि उपाध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रविना थापा र अघिल्लो निर्वाचनमा अध्यक्षको प्रत्यासी कुल आचार्यबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन नजिकिंदै जाँदा नेतृत्वका आकांक्षी केसी, थापा र आचार्यले आफ्नो तयारीलाई ब्यापक बनाएका छन् । उनीहरु यतिबेला आफ्नो टिमको अन्तिम टुंगो लगाउन ब्यस्त छन् ।

संस्था गैरराजनीतिक भनीए पनि अध्यक्षका प्रत्यासी तीनै जना काठमाडौं केन्द्रित हुँदै नेपालका नेता र प्रधानमन्त्री देखि मन्त्रीहरुसँग भेट गर्दै निर्वाचन नजिता आफ्नो पक्षमा पार्न लविङमा छन् । डा. केसीले प्रधानमन्त्रीदेखि मन्त्री हुँदै नेपालका ठूला पार्टीका नेताहरुसँग भेटघाट गर्दै अहिले रसिया फर्किसक्नु भएको छ ।

यता आचार्य र थापा भने नेपाली कांग्रेस भित्र को आधिकारिक उम्मेदवार बन्ने भन्ने विषयमा लविङमा हुनुहुन्छ । दुवैले आफू कांग्रेसको तर्फबाट आधिकारिक उम्मेदवार भएको दावी गर्दै आउनु भएको छ । यद्यपी कांग्रेसले अहिलेसम्म आधिकारिक उम्मेदवार टुंगो लगाइसकेको छैन । आचार्य पार्टी सभापति शेर बहादुर देउवा र थापा रामचन्द्र पौडेल पक्षधर हुनुहुन्छ ।

कसको टिममा को परे ?

स्रोतका अनुसार  केसीको टिमबाट महासचिवमा सचिव गौरीराज जोशी, उपाध्यक्षमा महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठको टुंगो लागेको छ । बाँकि दुई जना उपाध्यक्षमा प्रवक्ता डिवी क्षेत्री, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष सुनील साह, अष्ट्रेलियाबाट पूर्व ओशिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी र बेल्जियमबाट पूर्व यूरोप संयोजक शिव कुमार बरुवाल मध्येबाट आपसी सहमतिको आधारमा टुंगो लगाइने बताइएको छ ।

महिला उपाध्यक्षमा साउदी अरवबाट यसमीन बेगम सैयद,  युवा उपाध्यक्षमासुदन थापालाई ल्याउने तयारी छ ।  उता तीन जना खुला सचिवमा लन्डनबाट आइसिसी सदस्य रामशरण सिमखडा, कोरियाबाट डा. देवी बस्नेत, बेल्जियमबाट गंगाधर गौतमको नाम टुंगो लागेको छ भने महिला सचिवमा हङकङकी निवर्तमान अध्यक्ष राधिका गुरुङ (टिका) को नाम टुंगो लागेको छ ।

त्यस्तै, कोषाध्यक्षमा वर्तमान सह-कोषाध्यक्ष लोकप्रसाद दाहाल, दुई सहकोषाध्यक्ष मध्ये खुला तर्फ एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी, आइसिसी सदस्य होमनाथ गौतममध्ये एक र महिलातर्फ एनआरएनए यूरोप महिला संयोजक योगिता थापाको नाम टुंगो लागेको छ ।

डा. केसी टिमबाट महिला संयोजकमा एनआरएनए अमेरिकाज् क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, युवा संयोजकमा आयरल्याण्डबाट निवर्तमान अध्यक्ष मिलन छन्त्यालको नाम टुंगो लागेको छ । 

आचार्यले पनि आफ्नो टिमको अन्तिम नामावली टुंगो लगाइसक्नु भएको छ । आचार्य टिमबाट महासचिवमा अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल चुनावी मैदानमा उत्रिनु भएको छ ।

स्रोतका अनुसार उपाध्यक्षमा सल्लाहकार एसी शेर्पा, त्रिलोक गुरुङ, सचिव आर.के. शर्माको टुंगो लागेको छ भने अर्को एक उपाध्यक्षमा मन केसी र गणेश केसीमध्ये एक जना उठाइने भएको छ । युवा उपाध्यक्षमा युवा संयोजक हिमाल गुरुङ र मध्यपूर्व युवा संयोजक राज रेग्मीमध्ये एक जनालाई ल्याउने तयारी छ ।  महिला उपाध्यक्षमा निवर्तमान सचिव जानकी गुरुङको टुंगो लागेको छ ।

त्यस्तैगरि, सचिवमा युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, मध्यपूर्व क्षेत्रीय संयोजक प्रवीण गुरुङ र एसिया प्याशिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेको टुंगो लागेको छ । उता महिला सचिवमा महिला संयोजक भोमा लिम्बु,  कोषाध्यक्षमा केसी टिमका लोक दाहाललाई ल्याउने प्रयास भइरहेको छ । दाहाल टिममा नआए सोम सापकोटालाई उठाउने तयारी छ । 

खुला सह-कोषाध्यक्षमा एशिया प्याशिफिक क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ (गोबिन्द) र महिला सहकोषाध्यक्षमा ओशिनिया क्षेत्रीय महिला संयोजक जानकी पौडेलको नाम टुंगो लागेको छ ।

त्यस्तैगरि युवा संयोजकमा मध्यपूर्व क्षेत्रीय सहसंयोजक मनोज गोर्खाली र एनआरएनए अमेरिकाज् क्षेत्रीय युवा संयोजक बिमला सापकोटा मध्ये एक जना ल्याइने भएको छ भने महिला संयोजकमा एसिया प्याशिफिक क्षेत्रको पूर्व महिला संयोजक जुनु गुरुङको नाम टुंगो लागेको छ ।

थापाको टिमबाट महासचिवमा ग्लोवल गोरखा समाजका अध्यक्ष विनय अधिकारी, उपाध्यक्षमा बेलायतबाट जयप्रकाश गुरुङ, महिला उपाध्यक्षमा क्यानडाबाट प्रमिला बस्नेतको टुंगो लागेको जनाइएको छ ।

उता सचिवमा अष्ट्रेलियाबाट नारायणप्रसाद काफ्ले, क्यानडाबाट चिरञ्जीवी घिमिरे, कोषाध्यक्षमा जापानबाट नारायण सुवेदी र सहकोषाध्यक्षमा क्यानडाबाट अभिमन्यू बस्नेतको नाम टुंगो लागेको र अन्य उम्मेदवारको टुंगो लगाउने काम भइरहेको बताइएको छ ।

यसपटक एनआरएनए निर्वाचनमा प्रवक्ता बाहेक ५८ पदमा निर्वाचन हुँदैन । प्रवक्ता भने पछि अध्यक्षले नियुक्ती गरिने ब्यवस्था छ । तीन टिमले केन्दको १७ पदाधिकारीमा उठाइने उम्मेदवारको टुंगो लगाए पनि क्षेत्रमा भने यसको टुंगो लगाउन सकेको छैन ।

संघको विश्व सम्मेलन आगामी अक्टोवर २३-२५ मा काठमाडौंमा हुँदैछ । यद्यपी अनलाईनबाट हुने निर्वाचन भने सम्मेलन अगावै गर्ने गरि तयारी भइरहेको छ ।


प्रकाशित | १४ भाद्र २०७८, सोमबार १३:५२