वैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउन एनआरएनएद्धारा श्वेतपत्र जारी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीलाई ब्यवस्थित गर्ने उद्देश्यले श्वेतपत्र जारी गरेको छ। संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले वैदेशिक रोजगारमा रहेका आप्रवासी नेपाली कामदारको अवस्था र भावी रणनीति तय गर्न सहयोगी बनोस् भनेर श्वेतपत्र  जारी गरिएको हो ।

आइतबार बालुवाटारस्थित संघको सचिवालयमा एनआरएनए अध्यक्ष कुमार पन्त, विभाग प्रमुख डा. बद्री केसी, उपाध्यक्ष रविना थापा र सल्लाहकार टिबी कार्कीले संयुक्त रुपमा श्वेतपत्र सार्वजनिक गर्नु भएको हो ।

कोभिड–१९ को संक्रमणमा एनआरएनएले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको उद्दारदेखि पुन:स्थापनासम्मको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि नेपाल सरकारले खोलेका १ सय १० देशको लागि सन् २०१९ र २०२० मा मात्रै झण्डै ४ लाख नेपालीले औपचारिक रुपमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारी देशको लागि मुख्य आय स्रोतको रुपमा रहेको छ । कुल गार्हस्थ उत्पादनमा (जीडीपी) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले रेमिट्यान्स मार्फत २४ प्रतिशतको योगदान गरेका छन्।

विश्वव्यापी कोरोना भाइरसको महामारीमा वैदेशिक रोजगारी समेत पूर्ण रुपमा प्रभावित हुँदा मुख्य रुपमा मध्यपूर्वमा रहेका साउदी अरब, यूएई, कुवेत, ओमन र बहराइन तथा मलेसिया लगायतका देशमा जाने नेपालीहरु समस्यामा परेका छन्।

कोभिड–१९ को महामारीपछि गैर आवासीय नेपाली संघ, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब २ लाख नेपालीहरुको उद्धार गरिएको छ । आगामी दिनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचनामार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार पारिएको छ ।

कोभिड–१९ का कारणले विभिन्न गन्तव्य देशस्थित अस्पतालमा उपचार गरिरहेका नेपालीहरुको लागि आवश्यक सहयोग पुर्‍याउन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आवश्यक तालिम, कानूनी परामर्श, अलपत्रमा परेकाहरुको घर फिर्ती र कोरोना भाइरसको प्रभावका कारण वैदेशिक रोजगारीमा अलपत्र परेर स्वदेश फर्किएकाहरुको उचित व्यवस्थापन र विदेशस्थित नेपाली सरकारी नियोगहरुमा पर्याप्त साधन र स्रोतको समेत व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकोले नीतिगत सुधारका लागि पनि यो श्वेतपत्र सहयोगी हुने देखिन्छ।

वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिर्वतन सहित कयौं अवसर र चुनौतिहरुलाई समेटेर गैरआवासीय नेपाली संघकोतर्फबाट स्वेतपत्र जारी गरिएको प्रवक्ता डिबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो श्वेतपत्रमा विशेषतः नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरुमा नेपालीहरुको अवस्था र उनीहरुले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीहरुको पुर्नएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिका लगायतका बारेमा वास्तविक रुपमा चित्रण गर्ने कोसिस गरिएको छ ।

कोभिड –१९ पछि नेपालमा वैदेशिक रोजगारीको अवस्था र नेपाली आप्रवासी कामदारले सामना गर्नुपर्ने समस्या र चुनौतीहरुको पहिचान गरेर त्यसको समाधानका लागि नेपाल सरकार र सरोकारवालाहरुलाई सचेत गराउने, साथै, नेपाली आप्रवासी कामदारहरुलाई सहयोग प्रदान गर्न सक्ने क्षेत्रहरुको पहिचान गर्ने उद्देश्यका साथ यो श्वेतपत्र जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित | ३१ श्रावण २०७८, आईतवार २०:२८