मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने प्रेस काउन्सिलको निर्णय

काठमाडौं –  प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने ऐतिहासिक निर्णय गरेको छ । काउन्सिलको हालै बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने निर्णय गरेको हो ।

काउन्सिलले विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट काउन्सिलमा पटकपटक यस्ता उजुरी/गुनासाहरू आउने गरेको भन्दै अबदेखि यस्ता मिडिया दर्ता नहुने शुक्रबार एक सूचना जारी गर्दै जनाएको हो ।

जारी सूचनामा दर्ता भएर सञ्चालनमा आइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम ( डोमेन) लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने उल्लेख छ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था छ ।

पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ ।

स्रोतको अनुमतिबगेर सामग्री सम्प्रेषण गर्न आग्रह

त्यस्तै, काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्य रूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन आग्रह गरेको छ । काउन्सिलले एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री बिना अनुमति साभार गरी सम्प्रेषण गर्ने गरेको विषयमा उजुरी तथा जन गुनासाहरू बढेको भन्दै यस्तो आग्रह गरेको हो ।

“सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयंले काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आह्वान गर्ने” निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चारमाध्यममा समाचार सामग्री तथ्यहिन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयंले पैँतीस दिनभित्र काउन्सिलमा लिखित वा अनलाइनमार्फत् उजुरी दिन सकिने पनि काउन्सिलले जनाएको छ ।

पछिल्लो समय प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत आएपछि अनलाईनमा देखिएका ब्याप्त विकृति हटाउन धेरै सुधारका प्रयासहरु भइरहेका छन् ।


प्रकाशित | २९ श्रावण २०७८, शुक्रबार १९:४७