प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ बसेका छन् । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद उपस्थित थिए । २१ जना सांसद अनुपस्थित रहेका थिए ।

आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेको सभामुख सापकोटाले जानकारी दिनु भयो । प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।

नेकपा एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् ।बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसदले मतदान बहिस्कार गरेर हिडेका थिए ।


प्रकाशित | ४ श्रावण २०७८, सोमबार ००:२२