संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य र ऐतिहासिक: कांग्रेस

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक फैसला भनी स्वागत गरेको छ । सर्वोच्च अदालतको फैसलालगत्तै प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य र ऐतिहासिक भएको बताउनुभएको हो ।

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आवेगमुक्त भएर संयमतापूर्वक मार्गप्रशस्त गर्न ढिलाइ गर्नुहुने छैन भन्ने विश्वास कांग्रेसले लिएको पनि प्रवक्ता शर्माकाे भनाइ छ ।

संविधान ठिक ठाउँमा आउनुपर्छ भनेर आ–आफ्नो ठाउँबाट योगदान गर्नेहरूप्रति कांग्रेसले सम्मान व्यक्त गरेको छ । प्रवक्ता शर्माले पार्टीले सर्वोच्चको आदेशलाई नेपाली जनताको ऐतिहासिक जितको रूपमा, लोकतन्त्रको जितको रूपमा नेपालको संविधानको जितको रूपमा र यो जितलाई जनताको हितमा प्रयोग गर्ने ऐतिहासिक अभिभाराको रूपमा पनि लिने बताउनुभयो ।

उहाँले फैसलाले एकसाथ महत्त्वपूर्ण तीन वटा सन्देश दिएको बताउनुभयो । कार्यपालिकाले संविधान र कानुनभन्दा बाहिर गएर काम गरेको खण्डमा संविधानको रक्षा गर्ने र सही व्याख्या गर्ने सवालमा न्यायालयले कर्म गर्न सक्दछ भन्ने सन्देश दिएको प्रवक्ता शर्माले बताउनुभयो । त्यसैगरी संसदलाई जोगाउनका लागि संविधानले सांसदलाई दिएको राजनीतिक अधिकारको रक्षा र सुरक्षा पनि न्यायालयले गरेको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक यात्रालाई विधि भित्रैबाट लैजानुपर्छ भनेर पनि स्थापित गरेको बताउनुभयो ।


प्रकाशित | २८ असार २०७८, सोमबार १७:०२