सरकारले विश्व बैंकबाट १७ अर्ब ऋण लिने

काठमाडौँ। सरकारले विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने करिब १७ अर्ब १७ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सो ऋण प्राप्त गर्नेसम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ ।

सम्झौता पत्रमा हस्ताक्षरका लागि मन्त्रालयका सचिव वा सहसचिव, अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखालाई अख्तियारी दिइएको जनाइएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले दिनुभएको जानकारी अनुसार, गण्डकी नदी बेसिनमा जोखिम समुदाय तथा परिस्थितिकीय प्रणालीको जलवायु समानुकूलन सुधार आयोजनाका लागि प्राप्त हुने करिब तीन अर्ब २३ करोड ३२ लाख रुपियाँ सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको छ । सो रकम हरित जलवायु कोषबाट आईयूसीएनमार्फत प्राप्त हुने जनाइएको छ ।

यस्तै जापान सरकारबाट छात्रवृत्तिका रूपमा प्राप्त हुने करिब ३६ करोड रुपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ । सो रकम प्रोजेक्ट फर ह्युमन रिसर्च डेभलपमेन्ट स्कलरसिप (जेडीएस) को दोस्रोचरणअन्तर्गत सन् २०२१ का लागि प्राप्त हुन लागेको हो । आजको गोरखापत्र दैनीकमा प्रकाशित समाचार ।


प्रकाशित | १७ असार २०७८, बिहीबार १०:३२