नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न १ लाख २५ हजार डलर सहयोग गर्ने एनआरएनए अमेरिकाको निर्णय

टेक्सस। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न १ लाख २५ हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनसिसी अमेरिकाको बैठकले कोभिड- १९ को सयोगार्थ नेपालमा निर्माण गर्ने अक्सिजन प्लान्टका लागि १ लाख २५ हजार डलर सहयोग गर्ने निर्णय गरेको हो । सो रकम​ गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्लाई एक हप्ता भित्रमा उपलब्ध गराइने छ । सो अक्सिजन प्लान्ट भने एनआरएनए अमेरिकाको नाममा बन्नेछ ।

त्यस्तै, बैठकले राष्ट्रिय समन्वय परिषद् अमेरिका र राष्ट्रिय आविस्कार केन्द्र, नेपाल संग सहकार्य गर्ने निर्णय गरेको छ । आविस्कार केन्द्र संग के कसरी सहकार्य गर्ने भन्ने सन्दर्भमा कार्यसमितिले कार्य अगाडि बढाउने निर्णय गरेको हो । राष्ट्रिय आविस्कार केन्द्र, नेपालबाट प्राप्त परियोजनाहरू सम्बन्धमा थप छलफल गरि कार्य समितिले परियोजनाहरूको छनोट गर्ने पनि निर्णय गरिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुने प्रतिनिधि (डेलिगेट्स) को छनौट गर्ने क्रममा नव निर्वाचित कमिटिका पदाधिकारी तथा बोर्ड सदस्यहरुलाई ६५ प्रतिशत भित्र समेट्ने र कुल सदस्य संख्याको २५ प्रतिशत प्रतिनिधिहरुको छनौटको निम्ति जुलाई २ अगावै निर्वाचन गर्ने गरी काम अघि बढाउने निर्णय पनि गरिएको छ । बैठकले संघको राष्ट्रिय निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । त्यसको समन्वय गर्ने जिम्मेवारी अध्यक्ष सुनील साह र महासचिव पशुपती पाण्डेलाई दिइएको जारी विज्ञप्तिमा जनाइएको छ ।


प्रकाशित | ७ असार २०७८, सोमबार १७:१६