एनआरएनएको निर्वाचन सार्ने पक्षमा छैनौ : कुमार पन्त

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्वाचन तोकिएकै समयभित्र हुने भएकाले भ्रममा नपर्न सबैमा आग्रह गर्नु भएको छ । कोभिड- १९ महामारीका कारण तोकिएको समयभित्र निर्वाचन गर्न कठिनाई भइरहेको भन्दै सार्ने विषयमा प्रस्ताव आइरहेको बेला अध्यक्ष पन्तले निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट पार्नुु भएको हो ।

अध्यक्ष पन्तले अहिलेको प्रविधिको जमानामा प्रविधिलाई प्रयोग गरेर निर्वाचन गर्न सकिन्छ भनेर आफूले यसअघि नै उद्घोष गरिसकेको बताउँदै निर्वाचन तोकिएकै समयभित्र हुने बताउनु भयो ।

अध्यक्ष पन्तले भन्नु भयो, ‘एनसिसीको सिस्टम बिग्रानु हुँदैन । ६ महिना सार्ने बित्तिकै एनसिसीहरुको सिस्टम बिग्रन सक्छ । सबै एनसिसी अधिवेशन गर्ने तयारीमा छन् । अप्ठ्यारो परिस्थितिमा पनि हामी एकताबद्ध भएर सामाना गर्न सक्छौ भन्ने देखाउने समय पनि हो यो । अरु भन्दा हामी फरक छौ भन्ने देखाउन पनि तोकिएकै समयभित्र निर्वाचन हुन्छ र गर्नुपर्छ ।’

संसारमा यस्ता दैवी प्रकोप महामारी जहिल्य पनि आउँन सक्ने बताउँदै अध्यक्ष पन्तले विश्भरि ८३ भन्दा बढी देशमा छरिएर बसेका गैर आवासीय नेपालीले त्यसलाई सामाना गर्नका लागि तयार भएर बस्नु पर्ने पनि बताउनु भयो ।

‘संघमा धेरै कुराहरु छलफलमा आउँन सक्ने भए पनि म्याद थपेर कार्यकाल लब्याउने विषयमा हामी सहमत हुन सक्दैनौ र यसमा हाम्रो कुनै स्वार्थ छैन भन्ने कुरा स्पष्ट पार्न चाहान्छु’ , अध्यक्ष पन्तले भन्नु भयो ।

अहिले विश्वभरि रहेका एनआरएनए एनसिसीहरुको निर्वाचन धमाधम हुँदैछ । अहिलेसम्म अमेरिका, ओमानले निर्वाचन सम्पन्न गरिसकेका छन् भने अन्य देशहरु निर्वाचनको तयारीमा लागिरहेका छन् । एनआरएनए विश्वभरिका ८३ वटा देशमा विस्तार भइसकेको छ ।


प्रकाशित | ३१ जेष्ठ २०७८, सोमबार १५:४९