मन्त्री गुरुङको सहयोगमा दोलखाका स्थानीय तहमा ‘होम आइसोलेसन किट’ वितरण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ब्यक्तीगत रुपमा गृहजिल्ला दोलखामा पठाउनु भएको ‘होम आइसोलेसन किट’ ९ ओटै स्थानीय तहलाई वितरण गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा काठमाडौंबाट पठाइएका स्वास्थ्य सामग्री वितरण गरिएको हो । ती स्वास्थ्य सामाग्री दोलखा हेल्थ फाउन्डेसनको सहकार्यमा जिल्लाका सबै स्थानीय तहमा संक्रमितको आधारमा वितरण गरिएको हो ।

दोलखाका प्रतिनिधिसभाका सांसद समेत रहनु भएका मन्त्री गुरुङले कोभिड संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा आम दोलखावासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्नका लागि ‘होम आइसोलेसन किट’ सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुग्ने गरी पठाउनु भएको थियो ।

शुक्रबार काठमाडौंबाट पठाइएको औषधिसहितको सो किटमा चिकित्सकहरुको परामर्शमा संक्रमितहरुका लागि अत्यावश्यक औषधीहरु तथा स्वास्थ्य सुरक्षा सामग्रीहरु रहेका छन् ।

मन्त्री गुरुङले दोलखाली जनतालाई कोभिड संक्रमण हुन नदिन, भए उपचारका लागि परामर्श लिने, अस्पतालहरुमा आवश्यक्ता परे उपचारको राम्रो व्यवस्था गर्न सो फाउन्डेसनले काम गर्ने बताउनु भयो । हरि जिरेल संयोजकत्वमा निर्माण भएको फाउन्डेसनमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेका छन् ।


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार १६:५१