इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर डर्वीमा सिटीको जित, उपाधि होड रोमाञ्चक

एजेन्सी :  म्यानचेस्टर डर्वी भिडन्तमा सिटीले बाजी मारेपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ । म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि उसकै मैदानमा २–० को जित निकालेपछि उपाधि होड थप रोमाञ्चक बनेको हो । जितसँगै सिटीको ३५ खेलबाट ८९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । सिटीले दोस्रो स्थानको लिभरपुललाई एक अंकले पछि पारेको हो । लिभरपुलको समान खेलबाट ८८ अंक छ ।

सिटीसँगको हारपछि म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा पर्ने मौका गुमाएको छ । म्यानचेस्टर ३५ खेलबाट ६४ अंक जोडेर छैटौ स्थानमा छ ।  म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्ड बुधबार राति भएको खेलमा पाहुना टोलीलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

५४औं मिनेटमा बर्नाडो सिल्भाले इकेए गुन्डोगानको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६६औं मिनेटमा लिरोए सानेले रहिम स्ट्रलिङको पासमा गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

प्रिमियर लिगमा अब तीन चरणको खेल बाँकी रहँदा सिटी र लिभरपुल उपाधि दौडमा उभिएको हो । दुवै टोलीले बाँकी तीन खेल जिते सिटी च्याम्पियन बन्नेछ । लिभरपुल च्याम्पियन बन्न सिटीले अंक गुमाउनु पर्नेछ । सिटीले बर्नली, लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ । लिभरपुलले हडर्सफिल्ड, न्यु क्यासल र वल्भ्ससँग खेल्न बाँकी छ ।

प्रति


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार ०६:२०