विज्ञ सम्मेलनको उपलब्धी : तीन महिनाभित्रै तयार गरि सरकारलाई बुझाइयो श्वेतपत्र

किरण बुढाथोकी /काठमाडौं

पहिलो पटक काठमाडौंमा आयोजना गरिएको विज्ञ सम्मेल उपलब्धीमूलक देखिएको छ । गैरआवासीय नेपाली संघ आयोजक र नेपाल सरकार सहआयोजक रहेको विज्ञ सम्मेलन उपलब्धीमूलक बन्दै गएको हो । विज्ञ सम्मेलन सम्पन्न गरेसँगै तीन महिनाभित्र श्वेतपत्र तयार पारी सरकारलाई हस्तान्तरण गर्ने कार्यतालिका अनुसार सरकारलाई श्वेतपत्र २३ बुँदे सुझावसहित हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र अहिलेका सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई एनआरएनएको टोलीले तीन महिना लगाएर तयार पारेको श्वेत पत्र बुझाएको हो । गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावसहितको श्वेतपत्र तयार पारिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरी संघका अध्यक्ष भवन भट्ट, विज्ञ सम्मेलन संयोजक कुमार पन्तसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री समक्ष सो सुझाव पेश गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली संघले पछिल्लो समय गरेको गतिविधि र विशेषत ज्ञान र सीपलाई नेपालमा भित्र्याउने कदम प्रशंसायोग्य भएको बताउनुभयो । सरकारले समृद्ध नेपालको परिकल्पना गरिरहेको अवस्थामा गैरआवासीय नेपाली संघले आर्थिक लगानी संगसँगै ज्ञान, सीप र प्रविधिको लगानी भित्र्याउन पहल गर्नुलाई सरकारले सकारात्मक रुपमा लिएको उहाँको भनाई थियो ।

नेपालमा नलेज बैंक स्थापना गर्ने सरकारको लक्ष्य रहेको भन्दै उहाँले अरु सम्पत्ति अस्थायी प्रकृतिको हुने तर ज्ञान सीप स्थायी प्रकृतिको हुने भएकाले ज्ञानको स्थानान्तरणमा सरकारले संघसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । यस्तै, प्रधानमन्त्री ओलीले नेपालमा रहेको हिमाली श्रृंखलाले उपमहाद्विपको वातावरण सन्तुलनमा खेलेको भूमिकामा सतर्क गराउन आ–आफ्नो स्थानबाट सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघको पछिल्ला गतीविधीबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । उहाँले विज्ञ सम्मेलनको सारांश पेश गर्नु हुँदै संघले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धि गर्ने जमर्कोका साथ विज्ञ सम्मेलन गरेको जानकारी गराउनुभयो । साथै उहाँले भिजिट नेपाल २०२०, विद्यार्थी भर्ना अभियान लगायत सरकारले लिएका कार्यक्रमहरु सफल पार्न संघ लागि पर्ने विश्वास दिलाउनुभयो ।

यस्तै संघका उपाध्यक्ष एवं सम्मेलनका संयोजक कुमार पन्तले अक्टोबरमा सम्पन्न विज्ञ सम्मेलनको पृष्ठभूमि लगायत सम्मेलन सम्पन्न गर्नका लागि गरेका सम्पूर्ण गतिविधीको बारेमा स्मरण गराउनुभएको थियो । सम्मेलनका अर्का संयोजक डा। हेमराज शर्माले सम्मेलनको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । संघद्वारा गत अक्टोबरमा भएको विज्ञ सम्मेलनमा १ सय ६६ कार्यपत्र प्रस्तुत गरिएका थिए । १९ वटा सत्रमा सम्पन्न सम्मेलनमा २१ मुलुकका ५ सय भन्दा बढी प्रतिनिधि सहभागी थिए । श्वेतपत्रमा २३ बुँदे सुझावसहित ७६ पेजको छ । श्वेतपत्र अंग्रेजी भाषामा तयार भएकाले नेपालीमा समेत अनुवादन गरिने जनाइएको छ ।

फरक प्रसङ्गमा संघका पदाधिकारीहरुले संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विद्येयकलाई संघले राखेको सुझाव सहित पारित गरी कार्यन्वयनमा ल्याउन पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय, कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे, विज्ञ सम्मेलन समितिका सदस्य सचिब डा। हरि दाहाल, आइसीसी सदस्य रामशरण सिम्खडा, अनरेरी काउन्सिल सदस्य गोविन्द सुवेदीलगायत विभिन्न मुलुकबाट आउनु भएका प्रतिनिधिहरुका साथै सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, एनआरएनले सरकारलाई श्वेतपत्र हस्तान्तरण गरेसँगै नेपाल पत्रकार महासंघको कार्यालयमा स्थापना गरिएको लाईभेरि महासंघलाई हस्तान्तरण गरेको छ । सोही अवसरमा सो श्वेतपत्र सार्वजनीक गरिएको थियो ।


प्रकाशित | १० चैत्र २०७५, आईतवार १६:३३