एनआरएनए जापानले कोरोनाबाट प्रभावित बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिवालयको आकस्मिक बैठकले कोरोनाबाट प्रभावित नेपालको बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । यहि मे ३ तारिख बसेको एनआरएनए जापानको सचिवालय बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।

संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार बैठकले एनआरएनए आइसीसीले सुदुरपश्चिममा उपलब्ध गराउने ब्लड बैँक बसको लागि पनि १ लाख रुपैँया सहयोग गर्ने निर्णय पनि गरेको छ ।

बाँके जिल्ला र उक्त जिल्लामा अवस्थित भेरी अञ्चल हस्पिटलमा कोभिड(१९ को संक्रमणबाट संक्रमित बिरामी अत्याधिक रुपमा रही गम्भीर स्थिति रहेकोले सहयोग कहाँ र कसरी गर्ने भन्ने बारे सम्बधित हस्पिटल र स्थानिय निकायसंग समन्वयको निम्ति महासचिव जनक बिक्रम शाहीलाई जिम्मेवारी दिईएको छ ।

साथै सोही अभियानमा बाँके, बर्दिया मैत्री समाजले पनि सहयोग अभियान चलाई रहेकोले उक्त संस्था संग समन्वय गरी संयुक्त रुपमा सहयोग गर्ने वारेमा प्रवक्ता श्रेष्ठलाई जिम्मेवारी दिइएको हो ।

उक्त क्षेत्रमा बाँके बर्दिया मैत्री समाज जापानले पनि सहयोग संकलन गरि संयुक्त रूपमा सहयोग हस्तान्तरण गर्ने जनाएको छ ।


प्रकाशित | २२ बैशाख २०७८, बुधबार ०९:०७