काठमाडौंमा कोरोनाको जोखिम बढ्यो, १८ जना टेकुको आइसीयूमा

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । कुल कोरोना संक्रमितमध्ये १८ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसीयूमा रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर अनुप बास्तोलाका अनुसार अहिले गत भदौ असोजमा जस्तै देशभर कोरोना संक्रमण फैलिएको छ । देशका सबैजसो अस्पतालमा विरामी छन् ।

उनीहरुमा निमोनियाको समस्या देखिएको छ । नेपाल एपीएफ अस्पताल बलम्बुमा १६ जना कोरोना संक्रमित उपचाररत छन् । उनीहरु अधिकांसलाई अक्सिजन दिनुपर्ने अवस्था छ ।

पछिल्लो पटक नेपालमा देखिएको कोरोना संक्रमण यूके भेरियन्ट हो भन्ने पुष्टि भइसकेको छ ।  यसको थप अनुसन्धान भैरहेको छ । कोरोना भाइरस आफ्नो रुप परिवर्तन गर्दै फरक-फरक भेरियन्टमा देखिन थालेको छ । अहिले देखिएको कोरोना भाइरस पहिलेको तुलनामा बढि संक्रामक र खतरनाक छ ।

पछिल्लो समयमा बालबालिकामा पनि कोरोनाको संक्रमण बढ्दो छ । विद्यालयले सावधानी नअपनाउँदा बालबालिका संक्रमित भएको चिकित्सकहरुको ठम्याई छ । पहिले अस्पताल लगायतका क्षेत्र कोरोनाको हटस्पट बनेका थिए भने अब विद्यालय नै कोरोनाको हटस्पट बन्ने खतरा बढेको छ ।


प्रकाशित | २९ चैत्र २०७७, आईतवार २१:३५