लाप्राकमा ५७३ घरमध्ये चार सय ५० घरको छानो छाईसकियो

५ सय ७३ घर अन्तिम चरणमा

सबै घरमा पहिलो तलाको काम सकियो भने दोस्रो तलाको पनि ८५ प्रतिशत काम पूरा

हालसम्म चार सय ५० घरको छानो छाईसकियो

एकीकृत बस्ती निर्माणमा १६० जना नेपाली सेनासहित ४५० कामदार परिचालन भएका छन् ।

लाप्राक : लाप्राकको गुप्सीपाखामा एकीकृत नमुना बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ । धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पपीडित लाप्राकवासीका लागि निर्माण गर्दै गरेको ५ सय ७३ घर अन्तिम चरणमा पुगेको हो । हालसम्म चार सय ५० घरको छानो छाईसकेको एनआरएनएका साईट इन्चार्ज लक्ष्मण अर्यालले जानकारी दिए । “सबै घरमा ट्रस हालिसकेका छौं, सबै घरमा पहिलो तलाको काम सकियो भने दोस्रो तलाको पनि ८५ प्रतिशत काम पूरा भएको छ,” उनले भने । आन्तरिक रूपमा केही काम बाँकी रहेको उनको भनाइ छ । “४७५ घरमा रंग लगाइसकेका छौं भने तल्लामा काठ छाप्ने काम बाँकी छ । घरमा झ्यालढोका राख्ने क्रम पनि सुरु भएको छ,” साइट इन्चार्ज अर्यालले भने ।

एकीकृत बस्ती निर्माणमा १६० जना नेपाली सेनासहित ४५० कामदार परिचालन भएका छन् । गुप्सीपाखाको १८.३ हेक्टर जग्गा स्वामित्वमा लिएर बस्ती निर्माण गरिएको हो । २०७३ माघमा बस्ती शिलान्यासका क्रममा एनआरएनका तात्कालीन अध्यक्ष शेष घलेले एक वर्षभित्र लाप्राकवासीलाई नयाँ घरमा सार्ने प्रतिबद्धता गरेका थिए । तर, २०७४ असोजसम्म काम नसकेपछि एक वर्षको समय थपिएको थियो । असोजमा पनि निर्माण नसकिएपछि घर हस्तान्तरणका लागि वैशाख १२ गतेको म्याद राखिएको थियो । यद्यपि, यो मितिमा पनि बस्तीको सबै संरचना निर्माण नहुने देखिएको छ । स्थानीयले आफ्नो जिम्मेवारीमा परेको निर्माण सामग्री समयमा नै उपलब्ध नगराउँदा घर निर्माण ढिलाइ भएको एनआरएनएका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीले बताए । “सम्झौताअनुसार स्थानीयले प्रतिघर गिटी ४० बोरा, ढुंगा ८ ट्रयाक्टर र काठ ५३ क्युफिट उपलब्ध गराउनुपर्ने हो,” उनले भने, “दिनुपर्ने निर्माण सामग्री सबैले बुझाएका छैनन्, यसले पनि ढिलाइ भएको छ ।” मौसमी प्रतिकुलता तथा निर्माण सामग्री ढुवानीमा असहजताका कारण तोकिएको समयमा घर निर्माण गर्न नसकेको उनले बताए ।

स्थानीयले काठ दिन ढिलो गरेपछि प्रतिघर ५ क्युफिट काठ एनआरएनएले नै व्यवस्थापन गरेर निर्माण कार्य अगाडि बढाएको साइट इञ्चार्ज अर्यालले बताए । “अब एउटा घरलाई ४८ क्युफिट काठ चाहिन्छ, स्थानीयले वनबाट सडकसम्म झारेपछि ढुवानी गरेर फिटिङ हामीले नै गर्नेछौं,” उनले भने । नमूना बस्तीको घरमा पीभीसीको झ्यालढोका प्रयोग गरिएको छ । तर यसमा गाउँले असन्तुष्ट रहेका स्थानीय मारसिंह गुरुङले बताए । “ प्लास्टिकको पातलो झ्यालढोका छ, एक लात्ता हान्दैमा जाने जस्तो छ, यस्तो झ्यालढोकाले घरको सुरक्षा कसरी हुन्छ ?” उनले भने ।  यो समाचार आजको कारोबार दैनिकमा छ ।

नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनाइएको छ । लाप्राक नमुना बस्ती गुरुयोजनाअनुसार सबै एकै प्रकारका २ तले ४ कोठे घर बनाइएको छ । पहिलो तलामा सिमेन्ट, इँटा र बालुवाको प्रयोगले बनाइएको छ भने दोस्रो तल्लामा एसी ब्लक प्रयोग गरिएको छ । ट्रस हालेर पीभीसी पाताले छाइएको छ । प्रत्येक घरमा शौचालय तथा सडक निर्माणको काम सुरु गर्ने परियोजनाका प्रोजेक्ट म्यानेजर सुवास अधिकारीले जानकारी दिए । “हामीले ५ सय मानिस अट्ने सामुदायिक भवन पनि निर्माण गर्ने तयारी गर्दैछौं, अब हाम्रो टिम करीब २ महिनामात्रै यहाँ रहन्छ,” अधिकारीले भने । स्थानीयको श्रमदानसमेत गरी प्रतिघर लागत १२ लाख रुपैयाँ रहेको एनआरएनएले जनाएको छ ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार ०९:२२