आज यूरोप भ्रमणमा जाँदै प्रधानमन्त्री

फाइल तस्विर

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार युरोप भ्रमणमा प्रस्थान गर्दैहुनुहुन्छ । युरोपेली तीन देशको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले जेठ २७ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकीको अवसरमा सम्बोधन गर्नुहुनेछ ।

समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने छ । जेनेभामा रहँदा ओलीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली जेठ २७ साँझदेखि नै बेलायत भ्रमणमा जानुहुनेछ । जेठ २७ गते प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा केही उच्चस्तरीय भेटघाट समेत हुनेछ । ओली जेठ २९ गतेसम्म बेलायतमा रहुनु हुनेछ ।

प्रधानमन्त्री ओलीले जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र सचिव र श्रम तथा रोजगार मन्त्रालयका सचिव लगायत रहनेछ । फाइल तस्विर 


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १०:०८