राष्ट्रिय आविष्कार केन्द्रको ‘भर्चुअल टुर’ मा सहभागी बन्न अध्यक्ष पन्तको आह्वान

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) का अध्यक्ष कुमार पन्तले आजको राष्ट्रिय आविष्कार केन्द्रको अभौतिक भ्रमणमा सहभागी बन्न आह्रवान गर्नुभएको छ । विदेशमा रहनुभएका नेपालीलाई लक्षित गरी अन्वेषक, अभियन्ता महावीर पुनले आज चैत ७ (मार्च २० ) साझ ६ बजे (नेपाली समय) राष्ट्रिय आविष्कार केन्द्रको अभौतिक भ्रमण (भर्चुअल टुर ) गराउँदै हुनुहुन्छ । सो कार्यक्रममा सहभागि हुन अध्यक्ष पन्तले आह्वान गर्नुभएको हो ।

‘मेक इन नेपाल’ नाम दिइएको यो कार्यक्रममा एनआरएनए संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, प्रमुख संरक्षक एबं पूर्व अध्यक्षहरु शेष घले, देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट , बर्तमान अध्यक्ष कुमार पन्तको विशेष सहभागीता हुने छ ।

अध्यक्ष पन्तले भन्नुभयो,’केन्द्रका प्रयास र प्रतिफलहरूको अवलोकन गरौँ । नेपाल बनाउने यस महान अभियानमा जोडिऔँ । सकेको योगदान गरौँ ।’

त्यस्तै, एनआरएनए उपाध्यक्ष तथा एनआरएनए फिलान्थ्रोपी तथा मानवता विभागका संयोजक सोनाम लामाले विभागको पहल तथा राष्ट्रिय आविष्कार केन्द्रको आयोजनामा हुने अनलाइन कार्यक्रममा सहभागिताको लागि आह्रवान गर्नुभएको छ ।


प्रकाशित | ७ चैत्र २०७७, शनिबार ०९:१२