पहिलो चरणमा प्रदेश-२, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश–२ सहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी गराउनुभयो । ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु’, उहाँले भन्नुभयो, ‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहम भूमिका निर्वाह गर्ने बेला आएको छ ।’

उहाँले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह पनि गर्नुभयो । अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । यसका लागि अन्य सुक्षाकर्मीसँग समन्वय गर्न पनि उहाँले सुझाउनुभयो ।


प्रकाशित | ९ माघ २०७७, शुक्रबार २१:१२