अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि सडकमा आन्दोलन हुुनु गलत : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्धालाई प्रभावित पार्ने गरि सडकमा आन्दोलन हुुनु गलत भएको बताउनुभएको छ । देउवाले भन्नुभयो, ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित हुने गरेर सडकमा आन्दोलन गर्ने धम्काउने हो भने त जसले बढी सडकमा मान्छे जम्मा गर्छ उसकै पक्षमा निर्णय गरे भै गो नि त ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ससंद विघटन असंबैधानिक भएपनि अदालतमा बिचाराधीन मुद्दा भएकोले आफूहरु अदालतबाट आउने फैसला स्वीकार गर्न तयार रहेको स्पष्ट पार्नुभयो । ‘अदालतले संसद पुनस्थापना गरेछ भने हामी संसदमा सशक्त रुपमा प्रस्तुत हुन्छौ, चुनावमा जाने निर्णय गरेछ भने चुनावमा भाग लिन्छौ’, उहाँले भन्नुभयो ।

कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकमा मंगलबार आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगीता समापन समारोहमा बोल्दै सभापति देउवाले आन्दोलन गरेर, धम्काएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृति गलत रहेको बताउनुभयो ।

सडकबाट अदालतलाई धम्क्याउने काम बन्द गर्नुपर्नेमा जोड दिर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नैपर्छ भनेर अदालतलाई धम्क्याउन नहुने भन्दै त्यसले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने बताउनुभयो ।


प्रकाशित | २८ पुष २०७७, मंगलवार १९:५९