मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले आठ जना प्रदेशसभा सदस्यहरुलाई तीन महिनाका लागि निलम्बन गरेको छ । मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदहरुलाई निलम्बन गरिएको हो ।
आइतबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको हो । निलम्बनको जानकारी आइतबार नै प्रदेशसभामा आएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताउनु भयो ।
बुधबार प्रचण्ड–माधव समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यले मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टीको हितविपरीत काम गरेको भन्दै २४ घण्टे स्पष्टीकण सोधेको थियो । स्पष्टीकरण सोधेको चार दिनपछि निलम्बन गरिएको हो ।


प्रकाशित | २८ पुष २०७७, मंगलवार १२:२९