संसद कुनै पनि हालतमा पुनर्स्थापना हुन सक्दैन, भ्रममा नपरी निर्वाचनको तयारीमा जुटनुस : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद कुनै हालतमा पुनर्स्थापना हुन नसक्ने भएकाले भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूले संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताउनुहुँदै संसद पुनर्स्थापनापुनर्स्थापना कुनै पनि हालतमा हुन नसक्ने बताउनुभयो । बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने स्पष्ट पार्नुभयो ।

कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको ओलीको भनाइ थियो । ‘प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर रु पुनर्स्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन भन्नुभएको होला,’ प्रधानमन्त्रीको भनाइ थियो ।

उहाँले अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको समेत बताउनुभयो। ‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न नै दिनुभयो ।’ उहाँले भन्नुभयो।प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

काठमाडौँ जिल्लाका आफू पक्षका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनको नाममा प्रचण्ड, नेपाल समूहले राजनीतिक कुरा सकिएपछि आपत्तिजनक आक्षेपको साहारा लिएको पनि बताउनु भयो ।

‘उहाँहरुले नारा लगाएको देख्नुभयो नि ? कठैबरा, देख्नेहरुलाई पनि धेरै लाज भइसक्यो, सामाजिक मर्यादा ख्याल गरेको भए हुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले धेरै बर्ष अगाडि भनेको थिए, गोरु नांगो देख्दा मलाइ लाज लाग्दैन । त्यो नाराबारे अहिले यत्ति मात्रै भनौं ।’ प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समुहको जुलुस र सभालाई सिसीमा औषधी बेच्नेको हैसियतमा रहेको सज्ञा दिनुभयो ।

‘रत्नपार्कमा सिसीमा औषधी बेच्नेले पनि त्यति मान्छे जम्मा गर्छ । उहाँहरुको हालत त्यही हो, किनकि उहाँहरुको एजेण्डा देश, जनता र लोकतन्त्र होइन, संबिधानको रक्षा पनि होइन । संबिधान संशोधन गरेबापत, नक्स छापेबापत उहाँहरुलाई कत्रो पीडा छ । उहाँहरुको एजेण्डा देश, जनता हुँदै होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।


प्रकाशित | १८ पुष २०७७, शनिबार १९:१६