एसियन भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोली पठाउने

काठमाडौँ । नेपाल भलिबल संघ (एनभिए) ले २०२१ मा चीनले आयोजना गर्ने एसियन महिला भलिबल च्याम्पियनसिपमा टिम पठाउने भएको छ ।

बुधबार बसेको एनभिएको कार्यसमिति बैठकले सन् २०२१ मा चीनको गोन्जाओ शहरमा एसियन च्याम्पियनसिपमा नेपाली टोलीलाई पठाउने निर्णय गरेको हो । एसियन च्याम्पियनसिप अगष्ट २९ बाट सेप्टेम्बर ५ सम्म चल्नेछ ।

नेपाल भलिबल संघले एसियन च्याम्पियनसिप खेल्ने दाबी सहित एसियाली भलिबल महासंघ (एभीसी)लाई पत्र पठाइसकेको छ ।

च्याम्पियनसिपमा सेन्ट्रल जोनबाट एक देश सहभागी हुने व्यवस्था छ । जसको च्याम्पियन नेपाली टोलीले सहभागिता जनाउन पाउनु पर्ने भन्दै नेपालले दाबी गरेको हो ।

अघिल्लो वर्ष बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपाली टोली विजेता बनेको थियो । यस्तै, घरेलु मेदानमा भएको दषिण एसियाली खेलकुदमा नेपालले रजत पदक हात पारेको थियो ।

पछिल्ला दुई प्रतियोगितामा नेपाली टोलीले हात पारेको सफलताले नै एनभिएलाई महिला टोलीलाई च्याम्पियनसिपमा पठाउन दबाब बनेको हो ।

एसियन च्याम्पियनसिपमा सहभागी हुन जनवरी १५ सम्म टिम दर्ता गर्नुपर्ने छ । सोही अनुसार भलिबल संघले नेपाली टिमलाई सहभागी गराउने निर्णय गरेको हो ।


प्रकाशित | २ पुष २०७७, बिहीबार ०९:१३