लयमा फर्कंदै ठमेल र दरबार मार्ग : होटल, रेस्टुराँ, पप तथा लाइभ म्युजिक बार र डिस्को खुल्न थाले

काठमाडौँ । कोरोना सङ्क्रमण (कोभिड–१९) महामारीका कारण विगत आठ महिनादेखि बन्द राजधानीको ठमेल र दरबार मार्ग क्षेत्रका होटल, रेस्टुराँ, पप तथा लाइभ म्युजिक बार र डिस्को खुल्न थालेका छन् ।

रात्रिकालीन मनोरञ्जन डान्स र दोहोरी बाहेक अन्य मनोरञ्जन क्षेत्र खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । खुला भएका व्यवसायका लागि पनि राति ९ः३० बजेसम्मको समयावधि तोकिएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला जीवनप्रसाद दुलालले रात्रिकालीन मनोरञ्जन दोहोरी, डिस्को, व्यायामशालाबाहेक अन्य व्यवसाय खुला गरिएको जानकारी दिनुभयो ।

यसक्षेत्रका पसल तथा सुपरमार्केट पूर्ण रूपमा खुलेका छन् । रात्रिकालीन मनोरञ्जनलगायत बाक्लो भीड लाग्ने अन्य व्यवसाय खोल्नका लागि मन्त्रिपरिषद्को निर्णय आउनुपर्छ, उहाँले थप्नुभयो, “अन्य व्यवसाय स्वास्थ्य सुरक्षा सतर्कता अपनाई खोल्न कुनै समस्या छैन । ” विशेष गरी युवालाई लक्षित मनोरञ्जन व्यवसायहरू डिस्को, पपबार, क्लब, लाइभ म्युजिक रेस्टुराँ समूहगत डान्स तथा भीडभाड नहुने गरी आवश्यक दूरी कायम राखी सञ्चालनमा कुनै बाधा नपुग्ने भनाइ स्थानीय प्रशासनको छ ।

कोरोना महामारी सङ्क्रमण नियन्त्रणका लागि व्यवसायीले स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले मापदण्ड बनाएर नै व्यवसाय सञ्चालन गरिएको बताउनुभयो ।
रेस्टुराँहरू बाहिर तथा भित्र हात धुनलाई साबुन पानी, प्रवेशद्वारमै सेनिटाइजर, एक मिटरको दूरी कायम राखी आसन स्थान, परिकार खाने बेलाबाहेक अन्य बेला माक्स अनिवार्य गरिएको जानकारी उहाँले दिनुभयो ।

त्यस्तै, पर्यटनसँग सम्बद्ध होटल, टुर एन्ड ट्राभल, मनी एक्सचेन्जर, अपार्टमेन्ट, सुपरमार्केट र पसल खुलिसकेका छन् । विशेष गरी चिसो मौसममा न्यानो तथा बाक्लो कपडा किन्न नागरिकको ठमेलमा चहलपहल बढ्ने गर्दछ ।

ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेल क्षेत्रमा पर्यटनसँग सम्बद्ध करिब पाँच हजारभन्दा बढी विभिन्न व्यापार व्यवसाय सञ्चालित छन् । त्यस्तै दरबार मार्गमा पनि दुई हजारभन्दा बढी व्यवसाय छन् । कोरोनाका कारण मनोरञ्जन व्यवसाय बन्द हुँदा आन्तरिक पर्यटकको आगमनमा पनि समस्या देखिएको छ । आजको गोरखापत्र दैनीकमा प्रकाशित समाचार


प्रकाशित | १६ मंसिर २०७७, मंगलवार ०८:४९