नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो, आज २९ संक्रमितको मृत्यु

काठमाडौं– नेपालमा कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघेको छ। गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै दिन १ हजार ४ सय ७४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

गत २४ घण्टामा ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ३७ हजार ७ सय ४७ पुगेको छ। हाल ५ सय ३५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६१ महिला र ४४८ पुरुष गरी ८०९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ९ हजार १२६ जना व्यक्ति संक्रमित भएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जनालाई कोरोना संक्रमण देखिएको छ।


प्रकाशित | १५ मंसिर २०७७, सोमबार १८:०८