नेताहरु ! पार्टी एकताबिरूद्ध बिषबमन नगर्नूस्

राजेन्द्र पुडासैनी /सुरेश गौतम

प्रिय कमरेडहरू,
अभिवादन ।
नेपालका दुई ठूला र महत्त्वपूर्ण कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र एनेकपा माओवादीको बिचमा भएको ऐतिहासिक एकतापश्चात् आम नेपाली जनता र समाजवादी समाजको सपना देख्नेहरूको जीवनमा आएको खुशियाली पनि अभूतपूर्व थियो । तर, नेकपाका शीर्ष तहमा रहेका भनिएका नेताहरूकै कारण निकट बिगतको त्यो खुशियाली धेरै समय टिकिरहन सकेन । शीर्ष तहकै पुराना नेताहरुको व्यवहारका कारण पार्टी एकता र दुई तिहाई बहुमतको सरकार क्रमशः कमजोर हुँदै गइरहेको कुरा जनता सामु छर्लङ्गै छ ।

खास गरेर कोभिड९१९० को चपेटापछि नेपालको कम्युनिस्ट आन्दोलनलाई नै प्रश्न उठ्ने गरी पार्टीको माथिल्लो निकायमा भैरहेको बिधि, पद्दति, संस्कार र अनुशासनबिहीन क्रियाकलापले सम्पूर्ण पार्टीपंक्ति नै सिथिल छ । यससँगै पार्टी नेताहरु आग्रह–पूर्वाग्रहमिश्रित गुटगत गतिबिधि, अनुशासनहीनता र व्यक्तिगत तावेदारीमा तल्लीन देखिएका छन् । यतिबेला ‘सर्प देख्दा दुलो बाहिर हात, माछा देख्दा दुलो भित्र हात’ भन्ने नेपाली उखानसँग मिल्दोजुल्दो भएको छ कार्यकर्ताहरूको मनोविज्ञान । गुट र व्यक्तिकेन्द्रित फाइदामा भासिएर लामो समय एउटै आन्दोलनमा सरिक कमरेडहरू निम्न स्तरको गालीगलौजमा उत्रिएका छन् । पार्टीका जिम्मेवार कामरेडहरुले सामाजिक सञ्जाल, सार्वजनिक मन्तव्य र पार्टीका फोरम समेतमा नराम्ररी आफ्नो सक्कली अनुहार देखाइ रहेका छन् । बिगतमा स्तुतिगान, गुट र चाकडीकै भरमा जिम्मेवारी हासिल गरेका साथीहरू पछिल्लो समयमा अझ बढी उत्तेजित भएर गुटको पहरेदारी गर्दै पार्टी एकताबिरूद्ध बिषबमन गरिरहेका छन् । यसले जनता र तल्लो तहका कार्यकर्ताहरुमा विभाजनको रेखा झन् कोरिने र निराशा उत्पन्न हुने स्थिति आउँछ । आम नेपाली जनताले बुझेजस्तै हाम्रो पार्टी नेकपा अहिले चरम संकटको अवस्थामा आइपुगेको छ । कम्युनिष्ट पार्टीमा विचारको बहश हुन्छ र हुनुपर्छ । तर हाम्रो पार्टीमा यो समयमा विचारको बहश छैन । समस्या छ त केवल पार्टीको बिधि, रणनीति र कार्यनीति भन्दा बाहिर नेताहरुको व्यवस्थापनमा । कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन गर्न आतुर माफिया हुन् । यो आत्मकेन्द्रित भागबण्डाको लडाइँमा पनि खराब पक्षलाई नै पुरानो नेतृत्वले हर्ताकर्ता बनाएको छ । पार्टी भित्र बिचौलियातन्त्र हाबी भएको छ, उच्च निकायका नेताहरू सरकार र पार्टी दुबैतिर निर्णायक भूमिकामा छन् । उनीहरुका क्रियाकलापले कार्यकता र शुभेच्छुकहरुलाई झन् उत्तेजनामा ल्याइरहेको छ, पार्टीको समस्या झन् बढाइरहेको छ । नयाँ जोश, जाँगर, विचार र नेतृत्वका पक्षमा बहश गर्नुपर्ने ठाउँमा कार्यकर्तालाई हनुमाने शैलीमा रक्षाकवच बनाइएको छ ।

कमरेडहरु,यहाँ नेर संसारकै मेहनती जातमा गनिने कमिलाको प्रकृतिको एउटा उदाहरण उपयुक्त हुन्छ । एउटा काँचको ठुलो सिसी भित्र १००÷१०० वटा राता र काला कमिला राखेर हेरौं । त्यहाँ केही पनि नराम्रो हुँदैन, दुबै जातका कमिला मिलेरै बसेका हुन्छन् । तर, त्यो सिसी हातमा लिएर मान्छेले एक पटक मात्र जथाभावी हल्लाएर टेबुलमा राखिदिएमा स्थिति ठीक उल्टो हुन्छ । त्यहाँ काला र राता कमिला एक आपसमा लडाईं शुरू गर्छन्, सकेसम्म एउटाले अर्कोलाई मार्न थाल्नेछन् । रातो कमिलाले कालोलाई र कालो कमिलाले रातोलाई शत्रु ठान्नेछन् । बिचराहरूलाई आफ्नो शत्रु काँचको भाँडो हल्लाउने मानिस हो भन्ने पनि थाहा हुँदैन । अहिले हाम्रो समाज र पार्टीको हकमा पनि यही तीतो सत्य लागु भएको छ । मुलुकमा एक जातिबिरूद्ध अर्को जाति, एक पार्टीबिरूद्ध अर्को पार्टी अनि अझ हाम्रो पार्टीको हकमा चाहीँ एउटा गुटबिरूद्ध अर्को गुट प्रयोग भएरहेका छन् । हामीलाई दलाल पुँजीवादले एउटा बन्द सिसी भित्र राखेर यसरी नै हल्लाइरहेको छ ।

कमरेडहरू, हामीले यति बेला यसरी एक आपसमा लड्नु भन्दा पहिला त्यो सिसी हल्लाउने दलाल पुँजीबादको नोकरको पहिचान गर्न जरुरी छ । कमरेडहरु यो घडीमा हामी साबधानी अपनाऔं, संयमित होऔं र नआत्तिऔं । नबहकिऔं र अरुलाई पनि नबहकाऔं । पार्टी एकताको मर्मलाई ध्यान दिँदै समाजवादमा पुग्ने नेपाली जनताको सपनाको कदर गरौं । आफ्नै गौरवपूर्ण बिगतको कदर गर्दै सचेत हुनुपर्ने यो जटिल समयमा एक आपसमा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई संकेत गरेर सामाजिक सञ्जाल र कुनै पनि संचार माध्यमहरुमा अभिव्यक्ति नदिन प्रवासी नेपाली एकता मञ्च युकेका सदस्य एवम् शुभचिन्तकहरूलाई सचेत रहन आग्रह गर्न चाहन्छौं।

नेकपा निकट प्रवासी नेपाली एकता मञ्च (ओएनयूएफ) युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले संयुक्त रुपमा जारी गर्नुभएको अपिल


प्रकाशित | ११ मंसिर २०७७, बिहीबार ११:४२