पुस्तक समिक्षा : मरुभूमिकी महारानी

नवराज भट्टराई

आख्यानकार गगन सिंह थापाको कृति ” मरुभूमिकी महारानी” लेखकले एकालाप/ आत्मालाप ( Monologue) शैलीमा लेख्नुभएको लेखकको जीवन कथा हो।

गम्भीर तर जिज्ञासु लेखक किशोरावस्थामा नेपालको सूदुर पश्चिमबाट विशाल भारतको मरुस्थलको शहर उदयपुर पुगेको त्यहाँ शिक्षा प्राप्तिको निमित्त उहाँले गरेको संघर्ष अनि विद्यालय पढ्ने बेलामा राजस्थान की राजघरानाकी युवती मृदुला सङ्ग भएको मित्रता, बालसुलभ उत्सुकता, स्वाभिमान अनि देशभक्ती कृतिमा देख्न पाइन्छ । कुलीन हुनुको बावजुद मृदुलाले गरेको माया, अपनत्व र हेरविचार लेखकले आजीवन स्मरण गर्नुभएको छ। पुस्तकमा राजघरानाकी मृदुला र उनका माता पिताले एउटा नेपाली बालकलाई धन सम्पत्ति र आर्थिक हैसियत नहेरी यो संसारमा माया प्रेम नै अमूल्य र सार्थक कुरा रहेको र बाचुन्जेल सबै सङ्ग प्रेम र समभाव गर्नुपर्ने कुरा उल्लेख गरेका छन, जुन कुराले मानवीय भावना र प्रेम धनी गरिब हुनु भन्दा माथि रहेको संदेश दिएको छ। लेखकले विद्यालयबाट राजघरानाकी मृदुला र उनका साथीहरु सङ्ग राजस्थानको मरुभूमिमा घुम्न गएको र त्यहाँको तूफान र हुरीमा रात बिताएको अनि किचकन्नी र उंट हेरालु युवकबीचको प्रेम कथामा बुन्नुभएको छ, किचकन्नी र भूतप्रेत जस्ता मान्यता तत्कालीन समाजमा व्याप्त रहेको कुरा सो द्र्ष्टान्तबाट स्पष्ट हुन्छ। त्यस यात्रामा हिमाली भूखन्डबाट राजस्थान जानुभएको लेखक त्यहाँको प्रकृति र वातावरणबाट मोहित र विस्मित हुनुभएको प्रसङ्ग उल्लेख छ।

पुस्तकमा लेखकले मानवलाई एउटा कालखण्डको यायावर, यात्रु भनेर गहन जीवन दर्शन अभिब्यक्त गर्नुभएको छ। एउटा कालखण्डमा हाम्रो अस्तित्व रहने र त्यो कालखण्डमा हामीले यस संसारमा माया र प्रेमको सुगन्ध छरेर जानुपर्ने लेखकको मान्यता छ।

लेखक थापा प्रकृति प्रेमी, संरक्षणकर्मी भएकोले होला नेपाली हिमाली भुखन्ड देखि राजस्थानका जीवजन्तू, फूल, वनस्पति र प्रकृतिको सुन्दर र सूक्ष्म वर्णन गर्नु भएको छ। उदाउँदो सूर्य र अस्ताउदो सूर्य , र त्यसका किरणहरुले लेखकलाई मोहित बनाएको छ। लेखकका अन्य कृतिहरुमा समेत सूर्य किरणको मनग्गे दृष्टान्त र चर्चा पाइन्छ, सूर्य किरण जीवनको प्रारम्भको अनि अन्कुरणको विम्बको रूपमा लेखकले प्रस्तुत गर्नुभएको छ।

आध्यात्मिकताको कसीमा भन्नुपर्दा लेखकले जीवनलाई पूर्वीय दर्शनको पूर्ण वृत्त ( Full Circle) को अवधारणामा व्याख्या गर्नुभएको छ। बडो सुन्दर र रोमाञ्चक तरिकाले जीवन जहाँ बाट शुरु भएको हुन्छ त्यही पुगेर विश्राम लिने गर्दछ। कल्कलाउदो उमेरमा सुख र दुख काटेको राजस्थानको उदयपुर शहर ५५ बर्ष पछि पुगेर आफू पढेको विद्यालय पुगेका आफ्नो बाल सखी मृदुलालाई भेट्नु भएको छ।

दुई बालसखाहरुको आधा शताब्दी पछिको मिलन भावुक र नोस्टाल्जिक छ। नेपाली भादगाउँले टोपी बाट शुरु भएको प्रसङ्ग पुन टोपीबाटै पुनर्जागृत हुन्छ । लेखकले नेपाल फर्किए पछि शिक्षा, विवाह, शैक्षिक पेशा , राजनीति र समाजसेवा गर्नु भएको प्रसङ्ग समेत यस लघु उपन्यासमा चर्चा गरिएको छ। नेपाली राजनीतिमा पछिल्लो समय देखिएको विकृतिलाई लेखकले सङ्गलो पानीमा धूलो र माटो मिसिएको भनेर खिन्नता र पीडाबोध गरेर राजनीतिबाट विश्राम लिनुभएको समेत प्रसङ्ग यस लघु उपन्यासमा छ।

मानव जीवनमा सत्य , निष्ठा, प्रेम, यौनिकताको जबर्जस्त आवश्यकताको लेखकले उठान गर्नु भएको छ। मानवीय प्रेम र यौनिकताको प्रखर वक्ता र यस विषयमा बीपी कोइराला सङ्ग समविचार राख्ने लेखकले ढोङ्ग र आडम्बरको प्रतिवाद समेत गर्नुभएको छ। नेपाली राष्ट्रियता देखि भारतको हल्दीघाटीको चर्चित युद्ध अनि महाराणा प्रताप को सौर्य , वीरता र त्यागको समेत पुस्तकमा वर्णन छ। राष्ट्र जोगाउन त्याग, बलीदान र समर्पण आवश्यक रहेको कुरा लेखकले पुस्तकमा प्रष्ट पार्नु भएको छ।

समग्रमा भन्नुपर्दा आध्यात्मिकता, प्रेम र जीवनको स्मृतिको कथा हो ” मरुभूमिकी महारानी” ।

लेखकका नाति सुहिम थापाले प्रकाशन गर्नुभएको पुस्तक ८० पृष्ठको र मूल्य १५० रुपैयाँ छ। पुस्तकलाई साहित्यकार प्रोल्लास सिन्धुलीयले सम्पादन गर्नुभएको छ।


प्रकाशित | ९ मंसिर २०७७, मंगलवार ०७:४४