एनआरएनए अमेरिकाविरुद्ध टेनिसीमा दायर मुद्दामाथि आउँदो अप्रिल ६ र ७ मा बहश हुने

टेक्सस- गैर आवासीय नेपाली संघ(एनआरएनए ) अमेरिका विरुद्ध अदालतमा दायर मुद्धामाथि आउँदो अप्रिल ६ र ७ तारिखमा बहश हुने भएको छ । एनआरएनए अमेरिकाको निर्वाचनमा धाँधली भएको भन्दै पछिल्लो निर्वाचनबाट वर्तमान कार्यसमिति चयन भए लगत्तै कोर्टमा मुद्दा दायर भएको थियो । सो मुद्धामाथि अप्रिल ६ र ७ तारिखमा बहश हुने भएको हो ।

एनआरएनए एनसिसी अमेरिकाका अध्यक्ष सुनील साहले संस्था विरुद्ध चान्सेरी कोर्ट फर डेभिडसन काउन्टी, टेनिसीमा दायर गरिएको मुद्दामाथि आउँदो अप्रिल ६ र ७, २०२१ मा बहस हुने गरी कोर्ट बाट जानकारी आएको बताउनुभयो ।

अध्यक्ष साहले एक बिज्ञप्ति जारी गर्नुहुँदै भन्नुभएको छ, ‘हाम्रो संस्थाको पछिल्लो निर्वाचन वाट वर्तमान कार्यसमिति चयन भए लगत्तै कोर्टमा मुद्दा दायर गरिएको यहाँहरूमा जानकारी रहेकै छ । मुद्दा दायर गर्दा संस्थाको छविमै असर पुग्दछ भन्ने हेक्का संस्थालाई माया गर्छौ भन्नेहरूबाट हुनुपर्ने हो तर त्यस्तो देखिएन । तैपनि हामीले आवेशको रूपमा गरिएको असन्तुस्टीलाई विभिन्न माध्यमबाट समाधान गर्न चाह्यौँ र संवादका लागी निरन्तर लागिरह्यौँ । सामाजिक संस्थामा सहकार्य गरेर अघि बढ्नु पर्ने हुन्छ । पदीय जिम्मेवारीमा बस्दा वा नबस्दा पनि संस्थालाई माया गर्छौ भन्नेहरूले जसरी पनि सेवा गर्न सक्दछन्, संस्थाका सहयोगी बन्न सक्दछन् ।’

बिज्ञप्तिमा थप भनीएको छ, ‘सामाजिक संस्था भएपछि केही उतार चढाव त आउँछ नै, केही असन्तुष्टि पनि नहुने होइन । यसलाई सरल डङ्गबाट समाधान गर्ने तर्फ सबैको जोड हुनुपर्दछ । संस्थामा आफूले चाहेकै जस्तो गरी निर्णयहरू नआउन सक्छन्, प्रजातान्त्रिक विधि र पद्दती आत्मसाथ गरेपछि सदस्यहरूले गर्ने मत नै निर्णायक रहन्छ, यसलाई अन्यथा कसैले लिनुहुँदैन, बरु संस्थालाई बलियो बनाउन रचनात्मक भूमिका खेल्नुपर्दछ । यस संघको बिधान अनुसार संस्थाको निर्वाचन हरेक २ वर्षमा सम्पन्न हुन्छ, यसलाई सम्झिएर अघि बढ्दा हामी सबैको हित हुन्छ अनि संस्थालाई सुदृढ गर्न पनि त्यसले बल पुर्‍याउँछ ।’


प्रकाशित | ५ मंसिर २०७७, शुक्रबार ०९:५८