कोरोनाको कारण रोकिएका देशमा नियमित हवाई उडान सुरु गर्ने तयारी

काठमाडौं – सरकारले पर्यटन गतिविधि खुकुलो बनाउने र थप गन्तव्य राष्ट्रमा उडान खुलाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बन्द दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सुरु गर्ने तयारी गरिएको हो ।

सिंहदरबारमा आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ) निर्देशक समितिको बैठकले हाल खुल्ला गरिएका नियमित उडानका अतिरिक्त दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सुरु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार सकिएको भन्दै उद्धार उडान बन्द गर्ने निर्णय पनि गरेको छ ।

कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

गुरागाईले हालसम्म १ लाख ३६ हजार २१६ नेपालीको उद्दार भइसकेको र कुटनीतिक नियोगबाट उद्दारका काम सकिएको जानकारी आएकाले कोहि नेपालीको उद्दार गर्नुपर्ने भए नियमित उडानबाटै समायोजन गरेर उद्दार गर्ने तथा उद्दारका लागि अव थप उडान नगर्ने निर्णय गरिएको बताउनुभयो ।

गुरागाईका अनुसार बैठकले बैतडीको झुलाघाट नाका खुल्ला गर्न पनि प्रस्ताव गरेको छ । योसँगै अब नेपाल प्रवेश गर्ने खुला नाकाको संख्या १४ पुग्नेछ ।

यस्तै, स्थानीय तहमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको परामर्शका लागि वडाबाटै स्वास्थ्यकर्मी परिचालन गर्ने, विदेशी कूटनीतिक नियोगका कर्मचारीका परिवारका सदस्यलाई पनि नेपाल आउन अनुमति दिने, विदेशमा रहेका नेपालीका शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।


प्रकाशित | २३ कार्तिक २०७७, आईतवार १८:०९