कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र दिन सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कागजात पुरा भएर दाबी परेकालाई नरोक्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

कोरोना संक्रमणमुक्त भएको लामो समयसम्म पनि धेरैले बीमा दावी भुक्तानी नपाएको ब्यापक गुनासो आएपछि समितिले ७ दिनभित्र भुक्तानी गर्न निर्देशन दिइएको हो ।

बीमा रकम नपाएको व्यापक गुनासो आएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालयमा छलफल गरी एक हप्ताभित्र बीमा रकम पाउने व्यवस्था गराउन, त्यसको अनुगमन गर्न र भुक्तानीको दैनिक प्रतिवेदन मन्त्रालयमा पठाउन निर्देशन दिनुभएको छ ।

यसैगरी कोरोना बीमा दाबी भुक्तानी सम्बन्धमा सेवाग्राहीबाट आएका गुनासोको सुनुवाइका लागि बीमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोनसहितको हेल्प डेस्क स्थापना गर्न पनि निर्देशन दिइएको जनाइएको छ ।

बीमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो ।

सामूहिक बीमा गर्दा भने बीमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । तर, धेरैलाई कोरोना संक्रमण भएपछि भुक्तानी गर्न नसकिने भन्दै बीमा कम्पनीहरुले पोलिसी खारेज गर्न समितिलाई सुझाएका थिए । अहिले बीमा कम्पनीले अर्बौको भुक्तानी नदिई रोकेर राखेका छन् ।

शुरुमा कोरोना पोजिटिभ आउनेबित्तिकै एक लाखको बीमा गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भर्पाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ


प्रकाशित | १८ कार्तिक २०७७, मंगलवार १९:११