कोरोना संक्रमण रोक्न स्पेनमा पुनः राष्ट्रिय संकटकाल घोषणा

स्पेन । कोरोना संक्रमण रोक्न स्पेनमा पुनः राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि स्पेनमा पुनः देशव्यापी संकटकाल घोषणा गरिनुका साथै रात्रिकालिन कर्फ्यू लगाइएको हो ।

टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पेद्रो साञ्चेजले कोरोनाका कारण अतिरिक्त प्रतिबन्ध लगाउनु परेको बताए । अब स्पेनमा राति ११ देखि बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ ।

कोरोना संक्रमणकै कारण यसअघि पनि स्पेन सरकारले दुईपटक संकटकाल लगाइसकेको थियो । संकटकाल घोषणासँगै अब स्थानीय प्रशासनले कर्फ्यू तथा यात्रा प्रतिबन्ध लगायतका प्रतिबन्धहरु लगाउन सक्नेछ।

संकटकालसँगै जारी गरिएका नयाँ नियम १५ दिनदेखि ६ महिनाको लागि लागू हुन सक्नेछन् । संकटकाल लागेपछि त्यहाँको सरकारले संविधानमा सुनिश्चित गरिएका आवतजावत लगायतका स्वतन्त्रताका अधिकार समेतमा अस्थायी प्रतिबन्ध लगाउन सक्ने बताइएको छ।

स्पेनले संक्रमणको पहिलो लहरकै बेला विश्वमै कडा मानिएको लकडाउन लगाएको थियो ।स्पेनमा अहिलेसम्म ११ लाख १० हजार भन्दा बढी मानिस संक्रमित हुँदा झण्डै ३५ हजार जनाको मृत्यु भैसकेको छ । यसैबीच इटालीले समेत आइतबारदेखि लागू हुने गरी थप प्रतिबन्धको घोषणा गरेको छ ।


प्रकाशित | १० कार्तिक २०७७, सोमबार ०९:१५