‘एनआरएन डे’ को अवसरमा तिलिचो तालमा एनआरएनएको झण्डा फहराउँदा…

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष सोनाम लामाले संघको स्थापना दिवस ‘एनआरएन डे’ को अवसरमा एनआरएनएको झन्डा फहराउनुभएको छ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ ।

उपाध्यक्ष लामाले मुस्ताङको मुक्तीनाथ रुट हुँदै घोडामा आफूसहित अमेरिका, रसियन र अन्य विभिन्न मुलुकका विदेशी पर्यटकसहित एनआरएनएको झन्डा फहराउनु भएको हो । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले उपाध्यक्ष लामाले अक्टोवर ११ तारिखकै दिन एनआरएनएको झन्डा फहराईएको बताउनुभयो ।

तिलीचोमा आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज र कात्तिक महिनादेखि मंसिर अन्तसम्म बढी उपयुक्त हुने र अर्को सिजन चैत वैशाखदेखि जेठको अन्तसम्ममा उपयुक्त हुने गर्छ ।

ताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। ४९१९ मिटर उचाइमा रहेको यस तालको लम्बाइ ३.९ किलोमिटर रहेको छ भने चौडाइ १.६ किलोमिटर फराकिलो छ ।

कूल ४.८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् । हिमालको काखमा रहेको निलो सङ्लो पानी टलपलाई रहेको दृश्यले मन लोभ्याउँछ । हिजोआज यस ताल घुम्नका लागि बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेका छन्।


प्रकाशित | ५ कार्तिक २०७७, बुधबार २१:२३