तोकेकोभन्दा दोब्बर भाडा असुली, स्वास्थ्य मापदण्ड पनि पालना भएन

काठमाडौँ । सरकारले तोकेको भाडा दरभन्दा दोब्बर भाडा असुल्ने र कोरोना भाइरसको स्वास्थ्य मापदण्ड पनि कार्यान्वयन नगरेका लामो तथा मध्यम दूरीका यातायातका साधनलाई कारबाही गरिएको छ। यातायात व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले बिहीबार कलङ्कीमा अनुगमन गरी कारबाही गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टका अनुसार अधिकांश सार्वजनिक यातायातले तोकेको भाडा दरभन्दा बढी भाडा लिएको, सामाजिक दूरी कायम हुनेगरी सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्नेमा पूर्ण रूपमा यात्रु राखेको, स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ। कलङ्की अनुगमनमा पुग्नुभएका भट्टले भन्नुभयो, “अधिकांशले बढी भाडा लिएका छन्।

माइक्रोबसले टिकट नै नदिएर पैसा उठाएका छन्। स्वास्थ्य प्रोटोकल कायम छैन। जति पनि यात्रु राखेको पाइयो, तिनीहरूलाई कारबाही हुन्छ। ” बिहीबार कलङ्कीमा २ः०० देखि ४ः०० बजेसम्म अनुगमन गरिएको थियो। १७ वटा सार्वजनिक यातायातलाई अनुगमन गर्दा सबैले कुनैले पनि मापदण्ड पूरा नगरेको र भाडा मनलाग्दी उठाएको पाइएको हो।

नेपाल यातायात व्यवसायी राष्टिय महासङ्घले तोकेको भाडाभन्दा बढी लिन नपाइने तर केहीले आफूखुसी गरिरहेको बताएको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भन्नुभयो, “बढी भाडा लिन पाइँदैन, कानुन सबैले मान्नुपर्छ। कानुन उल्लङ्घन गर्नेलाई कारबाही हुन्छ तर यातायात व्यवसायमा अन्योल देखिएको छ। मन्त्रिपरिषद्को निर्णयले भाडा घटायो। पूरा सिटमा मान्छे राख्न पाउने भन्ने समाचार आएका छन् तर सरकारले निर्णय सार्वजनिक गरेको छैन, यसले अन्योल भएको छ। ”

करिब पाँच महिना बन्दाबन्दीपछि सरकारले असोज १ बाट खुला गरेको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले वृद्धि गरेको थियो। जसमा सिट क्षमताको आधा सिटमा मात्र यात्रु राख्न पाउने व्यवस्था गरेको थियो। आजको गोरखापत्र दैनीकमा प्रकाशित समाचार ।


प्रकाशित | ३० आश्विन २०७७, शुक्रबार ०७:३४