वाइडबडी विमान खरिद प्रकरण: अख्तियारले ५ विदेशी कम्पनीलाई बयानका लागि बोलायो

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा संलग्न ५ विदेशी कम्पनीलाई बयानका लागि बोलाएको छ । बिहीबार सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेसनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाईफ्लाइ एयरलाइन्स र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई ७ दिनभित्र अख्तियारको कार्यालयमा उपस्थित भई बयान दिन बोलाएको हो ।

पहिलो पटकको सूचनापछि कुनै पनि विदेशी कम्पनीले प्रतिक्रिया नजनाएपछि बिहीबार दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले यदि तोकिएको समय सीमाभित्र बयानका लागि नआए कानुनी रूपमै प्रक्रिया अघि बढाइने पनि जनाएको छ ।

संसदीय लेखा समितिको प्रतिवेदनका आधारमा अख्तियारले नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाइडबडी विमानमा ४ अर्ब भ्रष्टाचार भएको विषय छानबिन गरिरहेको छ । खरिद प्रक्रियामा संलग्न निगमको सञ्चालक समितिका पूर्वपदाधिकारी, निगमका कर्मचारीलगायतसँग बयान लिइसकेपछि विदेशी कम्पनीलाई पनि बयानका लागि बोलाइएको हो ।

निगमले विमान खरिदका लागि अमेरिकी एएआर कम्पनीलाई छनोट गरेको थियो । तर, सम्झौताका समयमा पहिल्यै नै विमान अर्डर गरिसकेको भनिएको हाईफ्लाइ पनि यो प्रक्रियामा संलग्न भएपछि विमान खरिद प्रकरणमा अनियमितता भएको आरोप लाग्दै आएको छ । लेखा समितिले भ्रष्टाचार भएको ठहर गर्दै थप अनुसन्धानका लागि अख्तियारलाई फाइल सुम्पिसकेको छ । यो समाचार आजको कारोबार दैनिकले लेखेको छ ।

यसैबीच नेपाल वायुसेवा निगमले बोइङ जहाज उडान नगर्ने घोषणा गरेको छ । निगमले बोइङ उडान नगर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग राय माग गरेको छ । मन्त्रालयबाट जहाज बिक्रीका लागि सहमति भएर आएपछि निगमले बोइङ जहाज बिक्री गर्ने मनशाय बनाएको छ । निगमसँग अहिले उडानयोग्य एउटा बोइङ जहाजमात्र छ । तर, जहाज उडान गर्दै आएका चारजना पाइलटकै सीप परीक्षण प्रमाणपत्र  पीपीसी नवीकरण नहुँदा जहाज ३ महिनादेखि ग्राउन्डेड छ ।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार १७:०३