एनआएनएमा अनलाइन भोटिङको चर्चा चल्नु समय सान्दर्भिक र आवश्यक : शेष घले

काठमाडौं । गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले संस्थाको १७ वर्षे इतिहासमा परिमार्जनको धेरै विषयमध्ये चुनावमा अनलाइन भोटिङ प्रणालीको चर्चा चल्नु समानुकुल छलफलको विषय भएको बताउनुभएको छ । संस्थामा अनलाइन भोटिङको चर्चा चल्नु समय सान्दर्भिक र आवश्यक छलफलको विषय बनेको घलेले बताउनुभएको हो ।

कोभिड बिरुद्धको भ्याक्सिन नआएसम्म संघमा ‘फेस टु फेस ‘ निर्वाचन असम्भव रहेको बताउँदै अनलाईन भोटिङ समानुकुल छलफलको विषय बनेकाले यसलाई गम्भिर भएर छलफल गर्नुपर्ने बेला आएको बताउनुयो ।

‘अनलाईन भोटिङ संस्था परिमार्जनको धेरै विषयमध्ये समानुकुल छलफलको विषय बनेको छ’, पूर्व अध्यक्ष समेत रहनु भएको घलेले ‘एनआरएन डे’ को अवसरमा जुममार्फत आयोजीत कार्यक्रममा बोल्दै भन्नुभएको छ, ‘अब हामी सबै मिलेर कसरी अनलाईन भोटिङलाई क्रुटिमुक्त बनाउन सकिन्छ भनेर गम्भिर छलफल गर्नुपर्ने आवश्यक छ ।’

उहाँले चुनावले विभाजन गर्ने गरेको बताउँदै संस्थाको मुल मन्त्र एकता, एकजुट भन्ने भावलाई भने बिर्सन नहुने पनि धारणा राख्नुभयो । ‘यो मन्त्र हाम्रो मातृभूमीको लागि हो । त्यसैले कोभिडले ल्याएको बाध्यतालाई अवसरमा परिणत गरौ । एकीकृत गर्ने र एकता बनाउने प्रणालीको खोजी गरौ’, उहाँले थप्दै भन्नुभयो ।

संस्था स्थापनाको १७ वर्षे इतिहासमा ८० भन्दा धेरै मुलुकमा सञ्जाल विस्तार भइसकेको भए पनि गर्नुपर्ने धेरै काम रहेको बताउँदै उहाँले भन्नुभयो, ‘कुनै पनि संस्था समानुकुल चल्नु बृद्धिमतापूर्ण हुन्छ । बदलिदो समयलाई आत्मसाथ गर्नु आवश्यक छ । आज पहिलो पटक भर्चुअल रुपमा ‘एनआरएन डे’ मनाइरहेका छौ । यो कोभिड -१९ ले ल्याएको बाध्यता हो । तर परिस्थितीलाई बाध्यता नभई अवसरको रुपमा लिऔं ।’


प्रकाशित | २६ आश्विन २०७७, सोमबार २०:२०