नेपालमा एकै दिन ३ हजार ४३९ कोरोना संक्रमित थपिए,१५ को मृत्यु

काठमाडौं : नेपालमा एकै दिन३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ३४३९ जनालाई संक्रमण देखिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय २६ जना डिस्चार्ज भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ।

उपत्यकामा १ हजार ६८४ थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ।

थप १५ को मृत्यु

नेपालमा एकै दिन १५ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ६१, रुपन्देहीमा ५५, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ।


प्रकाशित | २१ आश्विन २०७७, बुधबार १६:४३