उद्धार उडानमा तत्काल अनुमति दिन निर्देशन

काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्थानीय प्रशासनको सिफारिसमा तत्काल नै हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण वा आकस्मिक उद्धार कार्य गर्नुपर्ने अवस्थामा सम्बन्धित संस्थाको अनुरोध तथा स्थानीय प्रशासनको सिफारिसमा गृह मन्त्रालयले यथाशीघ्र हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्नुपर्ने निर्देशन दिएको हो ।

समितिका सभापति पवित्रा निरौलाका अनुसार विभिन्न १३ वटा जिल्लालाई लक्षित गरेर त्यहाँका स्थानीय प्रशासनको सिफारिसमा गृहले तत्काल अनुमति दिनुपर्ने गरी निर्देशन दिइएको हो । बैठकले कोभिड सङ्क्रमणका कारण प्रभावित पर्यटन क्षेत्र सञ्चालनका लागि निर्देशिका बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।


प्रकाशित | १९ आश्विन २०७७, सोमबार ०८:४०