आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान थप, कात्तिक ८ गते सम्मका लागि उडान तालिका सार्वजनिक

काठमाडौं । सरकारले आजदेखि नियमित उडान थपेको छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन उडान थप गरिएको हो । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आजदेखि कात्तिक ८ गते सम्मका लागि नियमित उडानको तालिका सार्वजनिक गरिएको जानकारी गराउनुभयो । २४ दिनमा नेपालका लागि १४ विमान कम्पनीले ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान भर्नेछन्।

नेपाल एयरलाइन्सले हप्तामा हङकङबाट दुई वटा, दोहाबाट सात, क्वालालाम्पुरबाट छ, दुबईबाट सात वटा, नारिताबाट दुई वटा र ग्वान्जाउबाट एउटा उडान गर्ने छ। हिमालयन एयरलाइन्सले दोहा र आबुधावीबाट हरेक हप्ता ७–७ वटा उडान भर्ने छ।

फ्लाई दुबई र हिमालयन एयरलाइन्सले यी तीनवटै ठाउँबाट हरेक दिन उडान गर्नेछन्। यसैगरी हिमालयनले क्वालालाम्पुरबाट हप्ताको पाँच दिन पाँचवटा उडान भर्ने भएको छ।

कुवेतबाट जजिरा एयरलाइन्सले हप्तामा सातवटा उडान भर्नेछ। कोरियन एयरले सोलबाट हप्ताको चार दिन चारवटा उडान, एयर अरेबियाले शारजहाँबाट सात वटा उडान भर्ने प्राधिकरणले जनाएको छ ।


प्रकाशित | १५ आश्विन २०७७, बिहीबार ०८:३२