कतारबाट थप ७ नेपाली श्रमीकलाई टिकट काटेर स्वदेश पठाइयो, हालसम्म ३० जनालाई नि:शुल्क टिकट

दोहा : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतार यहाँ रहेका नेपालीहरुको लागि निरन्तर रुपमा राहत तथा उद्धारको कार्यमा खटिरहेको छ । विशेष गरि कोभिड १९ महामारीले समस्यामा परेका नेपालीलाई यहाँको स्थानीय सरकारसँग समन्वय गर्दै राहत वितरण अभियान सञ्चालन गरिरहेको छ । जसअन्तर्गत अहिलेसम्म ७ हजार बढी नेपालीलाई राहत वितरण गरिसकेको एनआरएनए कतारले जनाएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारका अध्यक्ष तथा स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिती संयोजक मोहमद मुक्तदा मुसलमानका अनुसार हालसम्म ३० नेपाली श्रमीकलाई टिकट काटेर स्वदेश फीर्ता गरिसकिएको छ ।

शुक्रबार मात्र कतारमा हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका ७ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट उपलब्ध गराइएको अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।

अध्यक्ष मुसलमानका अनुसार कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाई भाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा एनआरएनए कतार र नेपाली ब्यवसायी संघ कतारद्वारा चौथो चरणमा थप ७ जनालाई टिकट काटेर स्वदेश फीर्ता गरिएको हो ।

पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार चौथो चरणमा उनीहरुलाई टिकट उपलब्ध गराइएको अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।


प्रकाशित | १० आश्विन २०७७, शनिबार २०:२१