कस्तो छ एनआरएनए युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन तयारी ?

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोप क्षेत्रको १३ औं युरोपेली बैठक, ११ औँ क्षेत्रीय महिला भेला तथा दोश्रो यूरोपेली ज्ञान सम्मेलन यही अक्टोबर ३ र ४ तारिखमा हुँदैछ ।सम्मेलन आयोजक समिति संयोजक तथा एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्यका अनुसार नजिकिएको बैठकको तयारी तीब्र ढगले भइरहेको छ ।

संयोजक आचार्यका अनुसार बैठकको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले गर्नुहुनेछ । बैठकमा पूर्व मन्त्री डा. प्रकाश शरण महतले पनि सम्बोधन गर्नुहुनेछ । साथै आइसिसी अध्यक्ष कुमार पन्त, नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेकपा नेता गंगालाल तुलाधर लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा विज्ञ भेला, महिला भेला, युवा भेला,गोरखार्ज र नेपाली नागरिकताको निरन्तरता लगायतका विभिन्न विषयमा छलफलको लागि तयारी गरिएको संयोजक आचार्यले जानकारी गराउनुभयो ।

संयोजक आचार्यका अनुसार तीन जना क्षेत्रीय उप-संयोजकहरु क्रमश : मुक्त गुरुङले एनसीसीहरुको गतिविधी तथा प्रगती प्रतिबेदनको संयोजन, शुक्रराज न्यौपानेले प्रचार प्रसार र मिडियाको संयोजन र कृष्ण तिमील्सिनाले आईसिसीसँग समन्वय गरिरहनु भएको छ ।

महिलाहरुको सेसनको लागि महिला संयोजक योगीता थापा र युबाहरुको लागि युवा संयोेजक जयक्रिष्ण ठाकुरको टिमले तयारी गरिरहनु भएको छ । साथै अन्य आइसिसी सदस्यहरुलाई पनि विभिन्न जिम्मेवारी दिई कार्य भइरहेको संयोजक आचार्यले बताउनुभयो ।

एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक योगिता थापाका अनुसार क्षेत्रीय महिला भेलामा वक्ताका रुपमा अनुराधा कोइराला, मनिषा कोइराला, किरण बज्राचार्य, राम कुमारी झाक्री, शेषा पौडेल, डिना उपाध्याय, एनआरएनए आइसिसी महिला उपाध्यक्ष रविना थापा र महिला संयोजक भोमा लिम्बुलगायतले सम्बोधन गर्नुहुनेछ ।

दोश्रो यूरोपेली ज्ञान सम्मेलनका संयोजक राजु अर्यालका अनुसार ज्ञान सम्मेलनमा स्वास्थ्य र चिकित्सा, उर्जा र वातावरण, पूर्वाधार लगायतका ५ ओटा सत्रमा विभिन्न विज्ञहरुको कार्यपत्रहरु प्रस्तुत हुनेछ । साथै सो सेसनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पनि सहभागि हुनुहुनेछ । विज्ञ सम्मेलनको तयारीका लागि राजु अर्याल, डा बोधराज सुबेदी , डा सुनिल शाह र चिरन्जिबी खड्काले समन्वय गरिरहनु भएको छ ।

भर्चुअल रूपमा आयोजना हुने उक्त सम्मेलनको मूल नारा “मातृभूमिको लागि सिप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान’ रहेको छ ।


प्रकाशित | ८ आश्विन २०७७, बिहीबार २१:०७