काठमाडौं : काठमाडौं उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा फुकुलो पारिएको छ । भदौ ४ गतेदेखि लगाइएको निषेधाज्ञा सर्तसहित हटाइएको हो ।
उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका हुन् । निषेधाज्ञा खुकुलो बनाइएपछि धेरै मानिस सहभागि हुने सभा सम्मेलन, जात्रा, जुलुसमा भने प्रतिबन्ध कायम नै छ ।
उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाए पनि उपत्यका प्रवेश गर्ने नाकाहरुमा भने थप कडाइ गर्ने निर्णय गरिएको छ । साथै भोलिदेखि सबैप्रकारका निजी र १६ सिट भन्दा बढी यात्रु क्षमताका गाडी जोर विजोर प्रणालीमा चल्न पाउनेछन् ।
चालकसहित ३ जना र एकै परिवारका भए थप २ बालबच्चा राखेर ट्याक्सी पनि चलाउन पाइने छ । नयाँ व्यवस्था अनुसार औषधि तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरु २४ सै घन्टा खुल्ला हुन पाउने छन् ।
सपिङ्ग मल, जुत्ता चप्पल बेच्ने फेन्सि पसल सोमबार बुधबार र शनिबार मात्र खोल्न पाइने छ । भाँडा र भान्साजन्य सामग्री बेच्ने पसल आइतबार मंगलबार र शुक्रबार खुल्ला हुने छन् ।
दैनिक उपभोग्यवस्त बेच्ने किरान पसल, डिपार्टमेन्ट स्टोर, फुटपाथका पसल ठेला गाडाका पसल बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने छ ।
पसल तथा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपले पालना गर्नु पर्ने छ । उद्योग कालकारखानाले श्रमिक तथ मजदुरका लागि उद्योग भित्रै खाने बस्ने व्यवस्था गर्नु पर्ने छ । फर्निचर र अटोमोबाइल भने सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।
प्रकाशित | २४ भाद्र २०७७, बुधबार १९:४३