विदेशमा कोरोना संक्रमित नेपालीको निको हुने दर उच्च

काठमाडौं : विदेशमा कोरोना संक्रमित नेपालीको निको हुने दर उच्च रहेको पाइएको छ । हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।

गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ ।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा बृद्धि भएको छ । संघका अनुसार हाल सम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।


प्रकाशित | २१ भाद्र २०७७, आईतवार १४:१२