नगरकोट सडक महोत्सव यही कात्तिक २३-२५ गते हुँदै

भक्तपुर:  पर्यटकीय नगरी नगरकोटमा हुने सडक महोत्सवको तयारी तीब्र बनाइएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरि गरिन लागिएको नगरकोट सडक महोत्सव यही कात्तिक २३ देखि २५ गतेसम्म हुँदैछ । चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल पार्नका लागि यो वर्षदेखि पर्यटन पूर्वाधार विकासका लागि बजेट समेत छुट्याएको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजना र चाँगुनारायण नगरपालिका, मण्डल देउपुर नगरपालिका, बनेपा नगरपालिका र शंकरापुर नगरपालिकाको विशेष सहयोगमा सडक महोत्सव हुन लागेको हो । ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा २५ वटा स्टल रहने आयोजकले जनाएको छ ।

नगरकोट प्रहरी चौकी तल मुल सडक, गडगडे स्कुल अगाडि, नगरकोट टावर जाने सडक र नाल्दुम चोक देखि महाकाली स्कुल माथि सम्म स्टल रहने नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो ।

महोत्सवमा प्रत्यक्ष सांगितिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरु, कृषि मेला, चंगा चेट, मुहार चित्रकारितालगायतका विभिन्न सामग्रीहरु प्रदर्शनमा रहने चाँगुनारायण नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताउनुभयो ।

उक्त महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुनेछ । महोत्सवमा एक लाख हाराहारीले मज्जा लिने अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो ।


प्रकाशित | १४ कार्तिक २०८०, मंगलवार १५:४८