मेलम्चीको समस्या छिट्टै समाधान: खानेपानी मन्त्री मगर

काठमाडौं : खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानको लागि पहल भइरहेको बताउनुभएके छ । आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्न पहलकदमी भइरहेकोे बताउनुभएको हो ।  बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई निर्देशन दिएको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानून निर्माणको कामलाई अघि बढाइएको बताउनुभयो । जनताको स्वच्छ पानी पिउने अधिकारलाई सुरक्षित गराउन आवश्यक प्रविधि भित्र्याउनुपर्नेमा सचिव शर्माको जोड थियो । सचिव शर्माले सन् २०३० भित्र ९० प्रतिशत जनताले उच्च तथा मध्यमस्तरको खानेपानी पिउन पाउनुपर्ने दीगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १७:०९